मेचीनगर, कात्तिक ८ । पाहुना टोली मानेभन्ज्याङ फुटबल क्लब अन्तर्राष्ट्रिय आमन्त्रण आठौँ रोलिङ च्यालेन्ज कपको फाइनलमा प्रवेश गरेको छ ।

बिहीवार धुलाबारी नुमना माविको खेलमैदानमा रेडहर्स इलामसंग भएको अन्तिम सेमिफाइनल खेलमा टाइब्रेकरमा ४–३ गोल अन्तरको जित निकाल्दैे मानेभन्ज्याङले फाइनलको यात्रा तय गरेको हो ।

निर्धारित समयमा १–१ को बराबरीमा खेल सकिएपछि निर्णयका लागि खेललाई सोझै टाइब्रेकरमा लगिएको थियो । जितका लागि मानेभन्ज्याङका पियुस श्रेष्ठ, बालकुमार राई, रोमन भुजेल र श्याम मुर्मूले गोल गरेका थिए । अर्का खेलाडी रोमन भुजेलको प्रहार गोलरक्षकले बचाए ।

यता रेडहर्सका तर्फबाट आयुष तिम्सिना, विवेक मगर र सन्तोष कार्कीले गोल गरेका थिए भने संजय श्रेष्ठ र विवेक सुनामको प्रहार पोष्टको दिशा दिन नसकेपछि फाइनल पुग्ने सपना अधुरो रहेको थियो ।

यसअघि निर्धारित समयमा खेलको २१ औँ मिनेटमा मानेभन्ज्याङका पियुस कार्कीले गोल गर्दै खेलमा अग्रता बनाए ।

खेलको २८ औँ मिनेटमा रेडहर्स इलामका तर्फबाट विदेशी खेलाडी अजय मार्टिनले गोल गर्दै खेलको नतिजालाई १ – १ को बराबरीमा पुर्याए । राष्ट्रिय खेलाडी नवयुग श्रेष्ठको क्रसलाई सदुपयोग गर्दै मार्टिनले विपक्षीको जाली चुमाएका थिए ।

पहिलो हाफमा १–१ को बराबरीमा खेल सकिएको थियो । दोस्रो हाफमा मानेभन्ज्याङले पाएको थुप्रै अवसरहरु गोलमा परिणत हुन सकेन तर, टाइब्रेकरमा पुगेर आफ्नो भाग्यलाई सही सावित गरायो ।
खेलको प्लेयर अफ द म्याच मानेभन्ज्याङका पियुस ठकुरी घोषित भए । उनले नगद पाँच हजार र ट्रफी पाए ।
उनलाई एन्फाका पूर्व केन्द्रीय सदस्य महेन्द्र लिम्बू, मेचीनगर १ का वडा अध्यक्ष रामकुमार राई, खेलप्रेमी संजय शर्मा, क्लबका अध्यक्ष नोभेम्बर विक्रम नेम्बाङलगायतले नगद तथा ट्रफी प्रदान गरे । साथै राष्ट्रिय खेलाडी नवयुग श्रेष्ठलाई सम्मान गरिएको थियो ।

शनिवार हुने फाइनल खेलमा आयोजक रोलिङ क्लब र मानेभन्ज्याङ फुटबल क्लब दार्जिलिङबिच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको विजेताले नगद ३ लाख र उपविजेताले नगद एक लाख ५० हजार, ट्रफी र मेडल पाउने अध्यक्ष नोबेम्बर नेम्वाङले बताए ।

प्रत्येक खेलको प्लेयर अफ द म्याचले ५ हजार रुपैयाँ पाउँदा विधागत पुरस्कार नगद १५ हजार रुपैयाँ पाउने छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्