झापा, कात्तिक ८ । सय दिनको काम कार्वाहीलाई हेर्दा केपी ओली नेतृत्वको सरकार असफल भइसकेको विश्लेषण गरिरहँदा सत्तासीन एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सरकारको समीक्षा गर्न सय दिनको अवधि अत्यन्त थोरै भएको बताएका छन् ।

उनले सकारात्मक काम गरेर ओली नेतृत्वको सरकारले जनताको मन जितेको दावी गरेका छन् । नेकपा एमाले झापा जिल्ला कमिटीले बिहीवार जिल्ला पार्टी कार्यालय बिर्तामोडमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उपमहासचिव ज्ञवालीले वर्तमान सरकारले सत्य निरुपण तथा मेलमिलापसम्बन्धी ऐन बनाएर सशस्त्र द्वन्द्वमा पीडितका परिवारले विगत १७ वर्षदेखि गरेको अपेक्षालाई सम्बोधन गरेको दावी गरे । उनले विगत १७ वर्षदेखि थाँती रहेको शान्ति प्रक्रियाको एउटा मूलभूत कार्य वर्तमान सरकारले सय दिनको अवधिभित्रै पूरा गरेको दाबी गरे ।वर्तमान सरकारले व्यवसायीमा भरोसा बढाइदिएको बताउँदै उपमहासचिव ज्ञवालीले सोको उदाहरणका रुपमा पूँजी बजार अर्थतन्त्रमा आएका सुधारलाई देखाएका छन् ।

पार्टीका जिल्ला अध्यक्ष प्रेम गिरीको अध्यक्षतामा आयोजित कार्यकर्ता भेलामा उनले झापा जिल्लाको समसामयिक राजनीतिक अवस्थितिका बारेमा प्रकाश पार्दै उपमहासचिवसमक्ष एमाले कार्यकर्ताहरुले पार्टीविरुद्ध आउने समस्या चिर्न कस्तो भूमिका खेल्नुपर्छ भनी प्रकाश पारिदिन आग्रह गरेका थिए ।

‘हिजोआज सामाजिक सञ्जालमा एमालेका विरुद्ध भ्रामक सन्देश जाने सूचनाहरु प्रवाहित भइरहेको सन्दर्भमा आफूहरु र पार्टी कार्यकर्ताहरुले पार्टीप्रतिको हमलाका विरुद्ध कहिलेदेखि प्रतिकार गर्ने, कसरी गर्ने ?उपमहासचिवबाट प्रष्ट निर्देशनको माग गर्दछु’ जिल्ला अध्यक्ष गिरीले हलको आवाज मुखरित गरेका थिए ।

यस्तै स्वागत मन्तब्य राख्दै जिल्ला कमिटीका उपाध्यक्ष शिव ढुंगेलले उपमहासचिवसमक्ष राष्ट्रिय राजनीतिमा वर्तमान अवस्था, पार्टी कार्यकर्ताको भूमिकाका सम्बन्धमा प्रकाश पारिदिन आग्रह गरेका थिए ।
‘अहिले पार्टी कार्यकर्ताहरु अलि भुत्ते हुँदै गएका हुन् कि भन्ने लागिरहेको बेला उपमहासचिव झापा आउनु भएको अवसर पारेर जिल्ला, नगर, गाउँ तहसम्मको नेतृत्वलाई स्पातिलो बनाउन भेला आयोजना गरिएको’ उपाध्यक्ष ढुंगेलले सुनाए ।

अध्यक्ष गिरी र उपाध्यक्ष ढुंगेलसहित कार्यकर्ताहरुले सोधेका दर्जनौं जिज्ञासाहरु उपमहासचिव ज्ञवालीले प्रष्ट्याएका थिए । उनले पार्टीको जिम्मेवार तहमा रहेका कार्यकर्ताहरुलाई प्रष्टसँग भनेका छन् – ‘बायोडाटामा जिम्मेवारी देखाउन मात्र कमिटीमा नबसेर जिम्मेवारी लिएको पदमा रहेर तोकिएको काम गर्नका लागि निर्देशन गरे ।’

‘संसदीय राजनीतिक प्रणालीमा टिकट पाउन र उम्मेदवारी दिन पनि पार्टीमा पदीय जिम्मेवारी देखिनु पर्छ भन्ने कुरालाई मात्र सम्झेर कोही कसैले पदलाई उपयोग नगरोस्’ उपमहासचिव ज्ञवालीले भने, ‘नेताहरु स्वप्नद्रष्टा हुन सक्नुपर्छ र निर्वाचनहरुमा नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने हुनुपर्छ ।’

पछिल्लो समय सामाजिक सञ्जालमा पार्टीविरुद्ध अफवाह फैलाइएको विषयमा त्यसलाई चिर्न सत्य के हो त्यो कुरा १–२ जनाले लेखेर अपलोड गर्ने अनि सयौंले सेयर गर्ने गरियो भने अफवाह लुक्छ र यथार्थमात्र धेरैको माझ पुग्ने कुराको जानकारी राख्न उनले आग्रह गरे ।

आज आमसञ्चार माध्यमहरुभन्दा छिटो सामाजिक सञ्जालमा सूचनाहरु प्रवाह भइरहेकाले सबै मानिस स्वयम् रिपोर्टर, पत्रकार, भिडियो ग्राफर भएका छन् । यसैले कुनै पनि विषयमा हामीले सूचना प्रवाह गर्न र सकारात्मक सन्देश दिन ढिला गर्न नहुने उनको सुझाब छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्