झापा , कात्तिक ८ । कमल गाउँपालिका– ५ रबि पेट्रोल पम्पअगाडि बसले घिसारेर मोटरसाइकल चालकलाई मारेको चार दिनपछि बुधवार कमलकै केर्खामा त्यस किसिमको घटना दोहोरिएको छ ।

इलेक्ट्रिक साइकलमा जाँदै गरेका हजुरबुवा र नातिनीलाई रात्रिबसले पनि त्यसरी मारेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । जसका कारण बुधवार रातभर केर्खा तनावग्रस्त बन्यो भने एक दर्जन घाइते भए । त्यस्तै तोडफोड र आगजनीबाट धेरै भौतिक क्षतिसमेत भएको छ । यसरी हेर्दा पूर्वपश्चिम राजमार्गमा चल्ने बसहरुको लापर्वाही बढिरहेको ठम्याउन सकिन्छ ।

बसहरुको लापर्वाही बढेको धेरै गुनासा आएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालयले कार्वाही अघि बढाएको छ । ट्राफिक प्रहरीले २७ वटा बसलाई कार्वाही गरेकै दिन केर्खामा सो अप्रिय घटना भएको ट्राफिक प्रमुख प्रहरी निरीक्षक गणेश पौडेलले बताए ।‘ट्राफिक प्रहरी चुप लागेर बसेको छैन ’ उनले भने ,‘दुर्भाग्य नै मान्नुपर्छ २७ वटा बसलाई कार्वाही गरेको दिन त्यस्तो दुर्घटना भयो ।’ उनले बसहरुको तीब्र गतिका कारण दुर्घटना बढेकाले टाइम कार्डको व्यवस्था लागू गर्ने विषयमा छलफल अघि बढाइएको बताए । जिल्ला यातायात व्यवस्थापन समितिको बैठकमा त्यस विषयमा प्रस्ताव गरिने उनले जानकारी दिए ।

यसअघि झापामा २०७६ सालमा टाइम कार्ड लागू गरिएको थियो । त्यसबेला केही हदसम्म दुर्घटना कम भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्