झापा, कात्तिक ९ । लापर्वाही गरी दुर्घटना गराउन थालेपछि ट्राफिक प्रहरीले झापामा रातो बसहरुलाई लक्षित गरी एक्सन अघि बढाएको छ ।

ओभरस्पीड, ध्वनि प्रदूषण र प्रतिस्पर्धा गर्ने बसहरूमाथि जिल्ला ट्राफिक प्रहरी कार्यालयले कारबाही थालेको हो । तीन दिनमा ७३ वटा बसहरुलाई कार्वाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी वरिष्ठ नायव निरीक्षक अर्जुन सोडारीले बताए । उनले बुधवार २७ , बिहीवार १३ र शुक्रवार ३३ वटा बसहरुलाई कार्वाही गरिएको जानकारी दिए । उनले पहिलो पटक गल्ती गर्नेलाई ५०० , दोस्रो पटक गर्नेलाई १००० , तेस्रो पटक गर्नेलाई १५०० रुपैयाँका दरले बढाएर जरिवाना लिने गरेको बताए । केर्खामा दुईजनाको मृत्यु भएको दिन पनि २७ वटा बसलाई कार्वाही गरिएको बताउँदै प्रहरी वरिष्ठ नायव निरीक्षक सोडारीले यति गर्दागर्दै दुर्भाग्यबश सो दुर्घटना भएको सुनाए ।

यसैबीच आज मेचीनगरको कालीझोडामा ट्राफिक प्रहरीले ५५ वटा रातो र हरियो लोकल बसका चालक र सहचालकलाई अन द स्पोर्ट प्रशिक्षण दिएको छ । बसका चालक र सहचालकलाई सुरक्षित यात्रा र ट्राफिक नियमको पालना गर्न सचेतना प्रदान गरिएको छ। साथै, ध्वनि प्रदूषण गर्ने बसहरूको प्रेशर हर्नसमेत निकालिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालयले विशेष अभियान सञ्चालन गर्दै रातो बसलाई कारबाही शुरु गरेको हो। दुर्घटना न्यूनीकरणका लागि आइतवार जिल्ला प्रशासन कार्यालयमा जिल्ला यातायात व्यवस्थापन समितिको बैठक राखिएको छ । त्यस बैठकमा टाइम कार्ड लागू गर्ने विषयमा छलफल हुने जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्