झापा, कात्तिक १० । झापा गौरीगञ्जका विद्यालयहरुले पनि प्रहरीको पाठ्यपुस्तक पढाउने भएका छन् ।
नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान बिभाग नक्सालले तयार पारेको “स्थानीय तह प्रहरी विद्यालय सम्पर्क कार्यक्रम पुस्तक ” गौरीगञ्जका विद्यालयमा पठनपाठन गराउने हिजो त्रिपक्षीय संझौता भएको हो ।
गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष फुलवती राजवंशीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक मिलन के.सी., सशस्त्र प्रहरी उपरीक्षक कबिन्द्र राई, गौरीगञ्ज गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज थापा, गाउँपालिकाका शिक्षा शाखा प्रमुख टंकप्रसाद खरेल, स्थानीय जनप्रतिनिधिहरु र विद्यालयका प्रधानाध्यापकलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रहरी उपरीक्षक के.सी.ले गाउँपालिकाका अध्यक्ष राजवंशीलाई “स्थानीय तह–प्रहरी–बिद्यालय सम्पर्क कार्यक्रम पुस्तक २०८०” को नमूना प्रति हस्तान्तरण गरेका थिए । यसअघि हल्दिवारी गाउँपालिका र भद्रपुर नगरपालिकाले संझौता गरी सो पुस्तक पठनपाठन गराउन थालिसकेका छन् । जिल्लाका सबै नगरपालिका र गाउँपालिकाका विद्यालयहरुमा सो पुस्तक पठनपाठन गराउने योजना रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए ।