दमक, कात्तिक १० । झापा दमक–९ का देशु भनिने यामु निरौलाको हत्याको चार दिन बितिसक्दा पनि प्रहरीले संलग्नहरुलाई पक्राउ पर्न सकेको छैन ।
दबाबमा आएर प्रहरीले जाहेरी दर्ता गरेपनि घटनासँग जोडिएका उर्लाबारी– ६ का प्रकाश कार्की र उर्लाबारी– ७ का ध्रुव गौतमबाहेक मुख्य आरोपीहरुलाई पक्राउ पर्न नसकेको हो । निरौलामाथि कुटपिटमा प्रत्यक्ष संलग्न देखिएका राजु भनिने शेरबहादुर लिम्बू र गणेश दर्जीसहित सो प्रकरणमा किटानी जाहेरी परेका पाँच जना पक्राउ नपर्नुका पछाडी प्रहरी प्रशासनलाई उपल्लो निकायबाट दबाब आएको हुन सक्ने आँकलन गरिएको छ ।
मृतक देशुकी पत्नी कृष्णमाया निरौलाले लिम्बू र दर्जीसहित दमक– ८ का बुद्धिमान थापा र नमकुमार चेम्जोङ, उर्लाबारी– ६ का प्रकाश कार्की, उर्लाबारी– ७ का ध्रुव गौतम र इटहरी बस्ने भनिएका डेबिट घलेविरुद्ध कर्तव्य ज्यानसम्बन्धी कसुरमा किटानी जाहेरी दिएकी थिइन् ।
चेम्जोङबाहेक ६ जनाविरुद्ध घटनाको भोलिपल्ट बुधबार इलाका प्रहरी कार्यालय दमकमा जाहेरी दर्ता भएको थियो भने चेम्जोङविरुद्ध बिहीवार मात्रै पुरक किटानी जाहेरी दर्ता भएको हो ।