झापा, कात्तिक १० । नेपाल आयल निगमले नजिकिँदै गरेको तिहार र छठमा खाना पकाउने एलपी ग्यासको आपूर्ति व्यवस्था सहज बनाउन ग्यास उद्योगीलाई निर्देशन दिएको छ ।
निगमले एलपी ग्यास उद्योग सङ्घलाई पत्र पठाएर तिहार र छठ पर्वमा अन्य समयमा भन्दा बढी ग्यासको खपत बढ्ने भएकाले आपूर्ति व्यवस्था सहज मिलाउन निर्देशन दिएको हो ।
निगमले उद्योगीलाई तोकिएको पर्चेज डेलिभरी अर्डर (पिडिओ) कोटा अनुसार समयमै माग गर्न र निगमबाट प्राप्त पिडियो सम्बन्धित रिफाइनगरीमा गई समयमै लोड गराउने प्रबन्ध मिलाउन भनेको छ ।
यस्तै भारतका रिफाइनरीबाट लोड भएका बुलेट चाँडोभन्दा चाँडो भन्सार बिन्दुमा ल्याई पास गर्ने व्यवस्था मिलाउन तथा भन्सार पास गर्ने प्रयोजनार्थ बुलेटहरूको चलान र बिलिङ गर्न आवश्यक रकम समयमै आफ्नो खातामा जम्मा गर्ने व्यवस्था गर्न निगमले व्यवसायीलाई निर्देशन दिएको छ ।
यस्तै चाडपर्वका बेला बजारको माग र आपूर्ति प्रणालीलाई प्रभावकारी सार्वजनिक बिदाको दिनसमेत पिडियो जारी, भन्सार पास र बिक्रीवितरणका लागि आवश्यक व्यवस्था मिलाउने निगमले जनाएको छ ।
अन्य समयको तुलनामा तिहारका बेला ग्यासको खपत धेरै हुने गर्छ । ५९ वटा ग्यास उद्योगले भारतका विभिन्न रिफाइनरी केन्द्रमा गएर ग्यास ल्याउने गर्छन् । बजारमा मासिक रूपमा ४५ हजार मेट्रिक टन ग्यासको खपत हुने गर्छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्