बिनोद सापकोटा,
दमक, कात्तिक १० । झापा दमक –९ का देशु भनिने यामु निरौलाको हत्या प्रकरणमा संलग्नलाई पक्राउ नगरेको भन्दै इलाका प्रहरी कार्यालय दमकको गेटमा प्रदर्शनकारीहरुले टायर बालेर विरोध गरेका छन् ।


इलाका प्रहरी कार्यालय दमकले आज दिउँसो १२ बजेसम्ममा हत्यामा संलग्नलाई पक्राउ गरी सार्वजनिक गर्ने बताएको थियो । प्रहरी आफैले दिएको समयसीमामा घटनामा संलग्नलाई पक्राउ गरी सार्वजनिक नगरेको भन्दै स्थानीयले इलाका प्रहरी कार्यालय दमक अगाडि चर्को नाराबाजी गरेका थिए । प्रहरीले हालसम्म घटनामा संलग्नलाई पक्राउ नगरेको भन्दै मृतकका काका सुजन निरौलालगायत आफन्त, स्थानीय गरी करिब २ सय जना भेला भई “केपी चोर देश छोड, केपी तेरो पाराले दुःख पायो साराले, केपी ओली मुर्दावाद, हत्यारालाई कार्बाही गर, प्रहरी प्रशासन मुर्दावाद” जस्ता नारा लगाएका थिए । प्रहरी कार्यालयको गेट अगाडि सडकमा टायर बालेर धर्ना दिइरहेकोमा दमक नगर प्रमुख राम थापाले आएर भीडलाई सम्झाई बुझाई गरेका थिए ।

घटनाका विषयमा छलफल गर्न हिजो दमक नगरपालिकाको सभाहलमा सर्वदलीय बैठक बसेको थियो । बैठकले हत्यामा संलग्न ब्यक्तिहरुलाई तत्काल पक्राउ गरी आवश्यक कानुनी कार्बाही गर्ने सहमति जनाएको थियो । सो घटनाका कारण दमक केही दिनयता अशान्त बनिरहेको छ । निरौलाको हत्या भएको चार दिन बितिसक्दा पनि प्रहरीले संलग्नहरुलाई पक्राउ गर्न नसकेको स्थानीयवासीको आरोप छ।

मृतकका आफन्त, स्थानीयवासी र जनप्रतिनिधिले दबाब दिएपछि मात्र पीडितको किटानी जाहेरी प्रहरीले दर्ता गरेको थियो। जाहेरी दर्ता गरेपनि घटनासँग जोडिएका उर्लाबारी– ६ का प्रकाश कार्की र उर्लाबारी– ७ का ध्रुव गौतमबाहेक मुख्य आरोपीहरुलाई पक्राउ नगरेको मृतकका आफन्तको आरोप छ। मृतक निरौलामाथि कुटपिटमा प्रत्यक्ष संलग्न देखिएका राजु भनिने शेरबहादुर लिम्बू र गणेश दर्जीसहित सो प्रकरणमा किटानी जाहेरी परेका पाँच जना पक्राउ नपर्नुका पछाडी प्रहरी प्रशासनलाई उपल्लो निकायबाट दबाब आएको हुन सक्ने आँकलन पीडितले गरेका छन् ।मृतक देशुकी पत्नी कृष्णमाया निरौलाले लिम्बू ,दर्जीसहित दमक– ८ का बुद्धिमान थापा र नमकुमार चेम्जोङ, उर्लाबारी– ६ का प्रकाश कार्की, उर्लाबारी– ७ का ध्रुव गौतम, इटहरी बस्ने भनिएका डेबिट घलेविरुद्ध कर्तव्य ज्यानसम्बन्धी कसुरमा किटानी जाहेरी दिएकी थिइन् ।
चेम्जोङबाहेक ६ जनाविरुद्ध घटनाको भोलिपल्ट बुधबार इलाका प्रहरी कार्यालय दमकमा जाहेरी दर्ता भएको थियो भने चेम्जोङविरुद्ध बिहीवार मात्रै पुरक किटानी जाहेरी दर्ता भएको इलाका प्रहरी कार्यालय दमकले नाएको छ।

यसैबीच मृतक निरौलाकी पत्नी कृष्णमायाले आफूले न्याय नपाएको गुनासो गरेकी छन् । आज बिहान विक्षिप्त अवस्थामा बिर्तामोडमा भेटिएका मृतक निरौलाकी श्रीमती ३० बर्षीया कृष्णमाया, ११ बर्षीय छोरा दिपांश, ८ बर्षीया छोरी दिपाली र दाजु नवराजले आफूहरुले न्याय नपाएको गुनासो गरेका हुन् । निर्दोष रहेका यामुलाई अनाहकमा बोलाएर हत्या गरिएको र न्यायका लागि प्रहरी प्रशासनले सहयोग गर्नुको साटो दुःख दिएको भन्दै उनीहरुले आक्रोश पोखे । श्रीमानको हत्या भएपछि जाहेरी लिएर प्रहरीकहाँ जाँदा प्रहरीले जाहेरी लिन नमानेको, जाहेरी दर्ता गर्नका लागि आन्दोलन गर्नु परेको, हत्याका योजनाकारहरुलाई हालसम्म पनि पक्राउ नगरेको भन्दै पीडित परिवारले प्रहरी प्रशासनको आलोचना गरेका छन् । ‘श्रीमानको हत्या भएको छ मैले न्याय पाउँदिन त भन्दा डीएसपीले ठुलो मान्छेको कुरा सुन्नुपर्छ, माथिको आदेश आउनु पर्छ भन्नु भयो,’ आक्रोशित हुँदै कृष्णमायाले भनिन्, ‘२७ बर्षको उमेरमा म विधवा भएँ, छोराछोरीले बाबा खोई भन्छन् म अनुत्तरित छु, उताका मान्छे भित्रभित्रै मिलाउनुपर्छ हामी पैसा दिन्छौँ भन्छन् ।’

हत्याका योजनाकार बुद्धि थापा र नम चेम्जोङ रहेको बताउँदै मृतकका दाजु नवराजले बुद्धिका भाई गोविन्द थापाले बुद्धि र नमलगायत आफ्ना पार्टीका मान्छेहरुको नाम नलिन आग्रह गर्दै पैसा दिने, बालबालिकाको पढाईमा सहयोग गर्ने भन्दै अनुरोध गरेको र नाम लिए राम्रो नहुने भन्दै धम्क्याएको बताए । बुद्धि नेकपा एमालेको तर्फबाट प्रदेश सांसद होमबहादुर थापाका भाई हुन् । हत्यामा संलग्नहरु नेकपा एमालेका कार्यकर्ता भएको र प्रहरीले पनि शक्तिको आडमा घटनामा संलग्नहरुलाई उन्मुक्ति दिन खोजेको पीडित परिवारको आरोप छ । बुद्धि थापा र नम चेम्जोङ पक्राउ नपरेसम्म शव नबुझ्ने परिवारको अडान छ ।

आज विहान पीडित परिवारले राष्ट्र राष्ट्रियता धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईलाई भेटेका छन् । भेटका क्रममा प्रसाईले निरौला परिवारलाई न्याय दिलाउने बचन दिएका छन् । उनले निरौला परिवारलाई न्याय दिलाउनका लागि अभियानसहित दमकका शुभचिन्तकहरुलाई दमकमा उतार्ने बताएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्