द्रोण अधिकारी
भद्रपुर । जंगली हात्ती व्यवसायिक कृषिका लागि एउटा चुनौति बनेको छ ।
जंगली हात्तीका कारण कृषिकै माध्यमबाट व्यवसायिक बन्न चाहने कृषकहरुले अन्नबाली सकुशल भित्र्याउन नसकेका हुन् । दशैं, तिहारजस्ता चाडपर्वकै बेला हात्तीले पाक्न लागेको धानबालीमा क्षति गर्ने गरेको छ । चाडपर्वका बेला झापाली किसान खेतीबालीको चिन्ताले चिन्तित छन् ।
वर्षौंदेखि झापाको पूर्वीदक्षिणी क्षेत्रका कृषकले जंगली हात्तीको उपद्रोका कारण खुसीका साथ पर्व मनाउन पाइरहेका छैनन् ।
दशैं, तिहार र छठ पर्वको समयमा धान पाक्ने र यही बेला हात्तीले दुःख दिने गरेका कारण खुसीका साथ चाडपर्व मनाउन नपाएको किसानको गुनासो छ । कृषक चुडाराज भट्टराईका अनुसार दक्षिणी झापामा हात्ती उपद्रो तीव्र गतिमा बढेको १५ वर्ष जति भयो । त्यस अगाडि उत्तरी झापा मात्र हात्ती प्रभावित क्षेत्रको रूपमा परिचित थियो । सायद त्यसबेला हात्तीको संख्या कम भएर हुन सक्छ दक्षिणी झापामा हात्तीको प्रभाव पर्न सकेको थिएन । तर, पछिल्ला वर्षहरूमा हरेक वर्ष हात्तीको उपद्रो बढेर व्यवसायिक खेती गर्ने किसान पलायन हुने क्रम पनि बढेर गइरहेको उनको भोगाई छ ।
भारतको आसामबाट बंगाल हुँदै नेपाल प्रवेश गर्ने हात्तीको बथानले बाहुण्डाँगी नाकाबाट नेपाल प्रवेश गरी खेतीबाली पाक्ने समयमा ठूलो क्षति गर्ने गरेको छ । हात्तीले झापाका साविक गाविसहरु दुवागढी, चन्द्रगढी, गरामनी, हल्दिवारी, जलथल, पृथ्वीनगर, बालुवाडी, बनियानी, घेरावारी, राजगढ, शरणामती कुमरखोद क्षेत्रमा हरेक वर्ष अन्नबालीमा क्षति गर्दै आएको छ ।
मकै र धान पाक्ने समयमा हात्तीको झुण्डले बाली खाने, नष्ट गर्ने समस्या देखिएको छ भने अन्य सुख्खा समयमा घरमा राखिएको खाद्यान्न खाने, घर टहरा भत्काउने ,प्रतिकार गर्न खोजे मानिसमाथि नै आक्रमण गरी अंगभंग पार्ने, ज्यानै लिनेसम्मका घटना बढ्दै गइरहेको छ ।
पीडित कृषक पदम तामाङ भन्छन् ,‘अब नयाँ कार्यशैली नअपनाउने हो भने झापाली कृषकले पेशा परिवर्तन गर्नु पर्ने बाध्यता आउन सक्छ । यसेै कारण पनि सरकारले छिंटोभन्दा छिटो हात्तीबाट भइरहेको कृषि क्षेत्रको क्षति रोक्न ठोस निर्णय लिनै पर्छ ।’
कृषि बचे कृषक रहलान्, कृषक भए देशको समृद्धिमा योगदान पुग्ला भन्ने सोच राखेर समय र अवस्था अनुकूल सरकारले नीति परिमार्जन गरेर देशको महत्वपूर्ण अंग कृषि क्षेत्र बचाउनु पर्ने माग बढिरहेको छ । पछिल्ला वर्ष हात्ती प्रभावित क्षेत्रमा धानबाली तथा हिउँदे तरकारी खेती घट्दै जानुको कारण कृषि उपजको सुरक्षा चुनौति नै मान्नु पर्ने हात्ती प्रभावित क्षेत्रका कृषकहरूको भनाइ छ ।
डिभिजन वन कार्यालयले भने हात्तीलगायत जंगली जनावरका कारण अन्नबालीमा क्षति भए क्षतिपूर्तिको व्यवस्था रहेको जनाएको छ ।