झापा, कात्तिक ११ । पछिल्लो समय इलाममा कुकुरले टोकेका बिरामी बढेका छन् । इलाम अस्पतालमा दैनिकजसो कुकुरले टोकेको बिरामी आउने गरेका छन् ।
घरपालुवा र सडकमा डुल्ने कुकुरले टोकेर दैनिक पाँच–सात जना बिरामी आउने गरेको इलाम अस्पतालको आकस्मिक सेवा इन्चार्ज टीका लुइँटेलले बताइन् ।
कात्तिक महिना सुरु भए यता ३० जनालाई कुकुरले टोकेको छ । ‘कुकुरले टोक्नुलाई सामान्यजस्तो लाग्छ, तर यो खतरनाक हो, स्वस्थ कुकुर नै किन नहोस्, टोकेपछि रेबिजविरुद्धको खोप लगाउनै पर्छ ।’
कुकुरले टोक्यो भने सुरुमा साबुनपानीले टोकेको भागलाई राम्ररी धुने र सकेसम्म चाँडो स्वास्थ्य संस्थामा जानुपर्ने स्वास्थ्यकर्मी लुइँटेलको भनाइ छ । यस्ता बिरामीलाई रेबिजविरुद्धको सातामा तीन वटा खोप चलाउने गरिएको छ ।
कुकुरले टोकेको दिन, टोकेको तीन दिन र टोकेको सात दिनमा खोप दिनुपर्ने लुइँटेलको भनाइ छ । गाउँबाट बजार भर्न आएका सर्वसाधारणलाई इलाम बजारमा रहेका कुकुरले बढी टोक्नेगरेको पाइएको लुइँटेलले बताइन् ।
चालुआर्थिक वर्ष २०८१–८२ को असोजसम्ममा ७० जनालाई कुकुरले टोकेको तथ्याङ्क अस्पतालमा छ ।
यस्तै, कात्तिक महिना सुरु भएपछि पनि ८ गतेसम्ममा ३० जना बिरामी अस्पताल आएको अस्पतालका व्यवस्थापक क्षितिज खतिवडाले बताए । गएको आर्थिक वर्ष २०८०–८१ मा भने सातसय ३५ जनालाई कुकुरले टोकेर भ्याक्सिन लगाएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्