झापा, कात्तिक ११ । यतिबेला इलाममा भारतीय पर्यटक आउन थालेका छन् । इलामको कन्याम, अन्तु हुँदै इलाम भएर पर्यटकीयस्थल सन्दकपुरसम्म जाने भारतीय पर्यटकको संख्या बढेको छ ।
इलाम हुँदै सन्दकपुर कालपोखरी, तुम्लिङ, मेघमा, मानेभञ्ज्याङ, पशुपतिनगरसम्मको क्षेत्रलाई भारतीय पर्यटकले निकै रुचाउने गरेको पाइन्छ । दार्जिलिङ घुम्न जाने र त्यहाँबाट फर्कँदा सीमावत्र्ती बजार पशुपतिनगर निस्कने भारत पश्चिम बङ्गालका पर्यटकको संख्या पनि राम्रै रहेको पशुपतिनगरस्थित पर्यटन सूचना केन्द्रले जनाएको छ ।
यता, आफ्नै मोटरसाइकल लिएर इलाम आइपुगेका ३८ भारतीय पर्यटकलाई नेपालकै बाटो हुँदै सन्दकपुर पु¥याएर बिदाइ गरेको इलामस्थित पूर्वेली जिप तथा ट्याक्सी व्यवसायी प्रालिका अध्यक्ष गृष्म सुब्बाले बताए ।

‘अहिले इलामबाट पर्यटकीयस्थल माइपोखरी हुँदै सन्दकपुर जाने सडक राम्रो भएको छ । कच्ची सडक भए पनि यात्रा सहज छ’ सुब्बाले भने, ‘यही सडक भएर मोटरसाइकलमार्फत ती पर्यटकलाई सन्दकपुर लगेर बिदा गरिएको छ । अरू भारतीय नागरिक पनि इलामको बाटो भएर सन्दकपुरको यात्रा गर्न सम्पर्कमा आउनुभएको छ ।’

यसरी सन्दकपुरतर्फको यात्रामा जाने पर्यटकलाई इलामको बिल्याँटेमा रहेको जरवीरे चिया उद्योगको बिक्री केन्द्रले निःशुल्क चिया खुवाएर स्वागत तथा बिदाइ गर्ने गरेको छ । इलामकै अग्लो अर्थात् ३ हजार ६३६ मिटरको उचाइमा रहेको सन्दकपुरबाट भने कञ्चनजङ्घा, कुम्भकर्ण लगायतका हिमालहरू नजिकबाट अवलोकन गर्न सकिन्छ भने बंगलादेशसम्मको तराईको समथर भूभाग अवलोकन गरेर आनन्द लिन सकिन्छ ।

यस्तै, पर्यटकीय क्षेत्र सन्दकपुरमा सूर्योदयको दृश्यावलोकन, चौँरी गाई, भेडा पालनसहित स्थानीय रहनसहन, रेडपाण्डाको वासस्थानको अध्ययन अवलोकन गर्न सकिन्छ ।

उता पर्यटकको रोजाइमा पर्ने अन्तुमा पनि यतिबेला पर्यटकहरूको भिड बढेको छ । राम्रोसँग मौसम नखुलेको भए पनि अन्तु आएर रमाउने पर्यटकको संख्या भने धेरै रहेको अन्तुस्थित सूर्योदय नगरपालिकाको टिकट काउन्टरका कर्मचारी दिपेन पुलामी मगरले बताए ।

दसैँ–तिहार र छठका लागि विद्यालय एकै पटक बिदा रहेकाले लामो विदामा विद्यार्थी बढी आउनेगरेको श्रीअन्तु पर्यटन व्यवसायी सङ्घका अध्यक्ष रुद्र घिमिरेले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्