बिर्तामोड,कात्तिक ११ । नेकपा एमालेनिकट अखिल नेपाल महिला संघ झापाले महिलामाथि हिंसा एवम् दुर्व्यवहारपूर्ण अभिव्यक्ति दिने पार्टीका पूर्व केन्द्रीय सदस्य दुर्गा प्रसाईलाई कानुनी कठघरामा पुर्याउने चेतावनी दिएको छ ।

हाल राष्ट्र राष्ट्रियता धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक रहेका प्रसाईले राजनीति गर्ने महिलाहरु गलत काममा संलग्न हुने अभिव्यक्ति दिएको अनेमसंघका महिलाहरुको आरोप छ ।प्रसाईले एमालेमा आवद्ध महिला नेतृत्वलाई विभिन्न आक्षेपहरु लगाइरहकाले उनलाई कानुनी दायरामा ल्याउने चेतावनी दिएका छन् ।

नेकपा एमाले झापा जिल्ला पार्टी कार्यालय बिर्तामोडमा आज पत्रकार सम्मेलन गर्दै अनेमसंघ झापाले प्रसाईले दिने गरेका महिलाविरुद्धका अभिव्यक्तिहरुको तथ्य संकलन गरेर कानुनी कारबाहीको तयारी गरेको बताएको छ । तथ्य प्रमाण संकलन गरेर प्रसाईलाई कानुनी दायरामा उभ्याउने अनेमसंघ केन्द्रीय उपाध्यक्ष मेनुका काफ्लेले बताइन् । उनले प्रमुख जिल्ला अधिकारीलाई यसबारे डेलिगेशन गएर प्रसाईले महिलामाथि दिइरहेको अभिव्यक्तिबारे अवगत गराउने जानकारी दिइन् । ‘महिलाहरु चुप बसेका कारण प्रसाईले मनपरी बोलिरहेका छन्’ उनले भनिन् ,‘अब हामी चुप बस्ने पक्षमा छैनौ । प्रसाईलाई कारबाहीको दायरामा ल्याएर छोड्छौं ।’

उनीहरुले प्रसाईविरुद्ध झापाली महिलाहरु मुक्तिचोक र बीएण्डसी अस्पतालमा पुगेर विरोध प्रदर्शन गर्न तयार रहेको बताएका छन् ।

महिलामाथि हिंसाका घटनाहरु बढ्दै गइरहेकाले अनेमसंघले गाउँगाउँसम्म महिलालाई सचेत गराउने बताएको छ । टोलटोलबाट महिला हिंसाविरुद्ध प्रतिकार गर्न नेतृ काफ्लेले आग्रह समेत गरेकी छन् ।
अनेम संघ झापा अध्यक्ष पवित्रा पाठकले दुर्गा प्रसाईले विभिन्न माध्यममार्फत महिलामाथि हिंसा हुने अभिव्यक्ति दिइरहेको आरोप लगाइन् । उनले प्रसाई र प्रसाईको जस्तो अभिव्यक्ति दिने कसैलाई पनि नछोड्ने चेतावनी दिएकी छन् ।

बढ्दो महिला हिंसा, बलात्कार, हत्याजस्ता जघन्य अपराध गर्ने सबैलाई कारबाहीको दायरामा ल्याउने उनको भनाई छ । अध्यक्ष पाठकले महिलामाथि हिंसा गर्नेहरुलाई कारबाही नगरे चरणबद्ध आन्दोलन गर्ने बताइन् ।पत्रकार सम्मेलनमा केन्द्र, प्रदेश र जिल्ला तहका नेतृत्वको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्