झापा, कात्तिक १३ । आफ्नै श्रीमतीको  कर्तव्य ज्यानसम्बन्धी कसूर मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका मेचीनगरका एक व्यक्ति कतारबाट पक्राउ परेका छन् ।

भोजपुरको साविक युँ गा.वि.स. वडा नं.–५ स्थाई ठेगाना भई मेचीनगर ११ धाइजनमा डेरा गरी बस्ने कर्तव्य ज्यान मुद्धाका फरार प्रतिवादी ३८ वर्षीय गजेन्द्र बान्तवा राई तीन वर्षपछि कतारबाट पक्राउ परेका हुन् । श्रीमतीलाई हत्या गरी फरार रहेकोमा कर्तव्य ज्यान सम्बन्धी कसुरमा राईलाई खोजतलास गर्ने क्रममा कतार बस्दै आएको खुल्न आएको थियो । प्रतिवादी राईको नाममा नेपाल प्रहरी प्रधान कार्यालय ईन्टरपोल शाखाबाट गत जेठ ३२ गते रेड कर्नर नोटिस जारी भएको थियो । एनसीबी दोहा कतारको सहयोगमा पक्राउ गरी आज उनलाई नेपाल प्रहरीलाई हस्तान्तरण गरिएको छ ।

सो सम्बन्धमा इलाका प्रहरी कार्यालय धुलाबारीबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए । राईले २०७८ मंसिर ३ गते आफ्नै श्रीमती ४५ वर्षीया शर्मिला तामाङ राईलाई हत्या गरेका थिए । त्यसपछि उनी फरार भएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्