झापा, कात्तिक १३ । मोरङको उर्लाबारी नगरपालिकाका नगरप्रमुख गङ्गाप्रसाद खरेलमाथि सोमबार दिउँसो हातपात भएको छ ।
हातपात गर्ने व्यक्ति उर्लाबारी –७ का मिलन भण्डारी हुन् । सोमबार दिउँसो ११ बजे भण्डारी नगरप्रमुख खरेललाई भेट्न कार्यालय पुगेका थिए । भण्डारीले नगरप्रमुखसँग योगसम्बन्धी कार्यक्रम सञ्चालनका लागि बजेट माग गरेको भण्डारीका आफन्तको भनाइ छ । नगरप्रमुख खरेल प्रक्रिया पु¥याएर तिहारपछि आउनु भन्ने जवाफ दिएर बैठकतिर लागे । भण्डारी भने खरेललाई कुरेर बसे । खरेल बाहिर निस्किनासाथ दिउँसो पौने ५ बजेतिर भण्डारीले खरेलमाथि मुक्का प्रहार गरे ।
मुक्का प्रहार गर्ने भण्डारीलाई नगर प्रहरीले पक्राउ गरी इलाका प्रहरी कार्यालय उर्लाबारीलाई बुझाएको छ । इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक राकेश यादवले घटनाको अनुसन्धान भइरहेको बताए । भण्डारी उर्लाबारीका चर्चित थेरापिष्ट हुन् । उनले यसअघि थेरापी सेन्टर सञ्चालन गरेका थिए । पछिल्लो समय नगर प्रमुख खरेलले विद्यालय शिक्षामा योग र प्राणायामलाई पाठ्यक्रममा राख्नुपर्नेमा जोड दिँदै आएका थिए । नगरप्रमुखको भनाइ अनुसार नै भण्डारी केही समययता योगासन र प्राणायाम विषयको पाण्डुलिपिलाई पुस्तकको आकार दिन सहयोगी खोज्दै हिँडिरहेका थिए ।