बिर्तामोड , कात्तिक १४ । बिर्तामोड नगरपालिकाका कर्मचारीहरुले आगामी दिनमा गुणस्तरीय, सहज र सरल ढंगले सेवा प्रवाह गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

बिर्तामोड नगरपालिकाका कर्मचारीहरुको विषयमा विभिन्न संचारमाध्यममा नकारात्मक समाचार प्रकाशित भएपछि कर्मचारीहरुले सामूहिक रुपमा प्रेस विज्ञप्ति जारी गरी त्यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् । उनीहरुले आफ्नो तर्फबाट सेवाग्राहीलाई विनाकारण कुनै ढिलासुस्ती, सेवा प्रवाहमा गलत मनसायले झन्झट तथा दुःख नदिएको दावी गरेका छन् । साथै नगरपालिकाको सबै शाखा प्रमुख र कर्मचारीहरुमा तिक्ततापूर्ण व्यवहार नभएको र प्रक्रियागत ढंगले आएका कुनै पनि योजना प्रभावित नभएको दावीसमेत गरेका छन् ।

बिर्तामोड नगरपालिकाको कर्मचारीको विषयमा ‘बिर्तामोड नगरपालिकामा लेखा प्रमुखको आतंक–मेयर र हाकिमलाई हप्कीदप्की, सहकर्मीलाई दुव्र्यवहार’ र ‘बिर्तामोड नगरपालिकामा कर्मचारीतन्त्रको रवैया, काम गर्न सकिनँ–खतिवडा’ शिर्षकमा विभिन्न अनलाइनमा समाचार प्रकाशित भएको थियो ।

यसैबीच बिर्तामोड नगरपालिकाबाट भक्तपुर सरुवा भएर गएका प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडाले बिर्तामोड नगरपालिकाका कर्मचारीहरका कारणले नभई आफ्नै पारिवारिक कारणले आफू सरुवा लिएर आएको स्पष्ट पारेका छन् । उनले सरुवा भएर गइसकेको आफूलाई विवादमा नपार्न आग्रहसमेत गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्