दुधे, कात्तिक १५ ।नेकपा एमाले शिवसताक्षी नगर कमिटीले चाडपर्व विशेष शुभकामना आदानप्रदान कार्यक्रम बुधवार सम्पन्न गरेको छ।
भूपू सैनिक संघ दुधेको सभाहलमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको हो। नेपालीहरुको महान् पर्व विजयादशमी, तिहार, नेपाल सम्वत्, छठ पर्व, चासोक तङ्नामलगायतको अवसरमा विभिन्न राजनीतिक दलका नेताले शुभकामना आदानप्रदान गरेका थिए।
पार्टी नगर कमिटीका अध्यक्ष मेदनी दङ्गालको अध्यक्षतामा भएको कार्यक्रम नेकपा एमाले कोशी प्रदेश सचिवालय सदस्यसमेत रहेका झापा निर्वाचन क्षेत्र नम्बर ४ का सांसद एलपी साँवाको प्रमुख अतिथ्यतामा भएको थियो। उनले यो देशको सर्वाङ्गीण विकासका लागि सबै राजनीतिक दल एक ठाउँमा उभिनुपर्ने बताए ।
‘राजनीति एक ठाउँमा छ । तर, विकास निर्माण राजनीतिक दलका नेता कार्यकर्ताको पहुँचका आधारमा आ–आफ्नो ठाउँमा छ। त्यसैले विकास निर्माणका हरेक कार्यक्रममा शिवसताक्षी नगरका राजनीतिक दल एक ठाउँमा उभिनुको विकल्प छैन,’ नेता साँवाले भने ।
नेकपा एमाले शिवसताक्षीले हरेक वर्ष शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्ने गरेको छ । दशैं अगाडि बाढी पहिरोले देश शोकमा डुबेका कारण एमालेले शुभकामना कार्यक्रम गरेको थिएन । दशैं र तिहारको बीचमा शुभकामना आदानप्रदान कार्यक्रम सान्दर्भिक हुने भएकाले यसै समयमा कार्यक्रमको आयोजना गरिएको पार्टी अध्यक्ष दंगालले बताए ।
शुभकामना आदानप्रदान कार्यक्रममा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला र स्थानीय तहका नेताको उपस्थिति थियो। करिब दुई सय सहभागी कार्यक्रममा अधिकांश वक्ताले यसपटक राजनीतिक घोचपेच गरेनन् । कार्यक्रममा नेपाली कांग्रेसका नेता परशुराम ढुंगाना, माओवादी केन्द्रका नगर अध्यक्ष महेन्द्र भट्टराई, राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला सदस्य छत्रबाबु ओझाले समसामयिक राजनीतिक विषयमा आफ्नो धारणासहित चाडपर्वको शुभकामना मन्तव्य राखेका थिए।
यसपटकको कार्यक्रममा एमाले शिवसताक्षी नगर कमिटीले चियापानसहित सहभागीलाई खीर खुवाएको थियो ।
कार्यक्रममा पार्टीका कोशी प्रदेश सचिवालय सदस्य एलपी साँवा लिम्बू, प्रदेश कमिटी सदस्य समेत रहेका नगर इन्चार्ज चन्द्रकुमार शेर्मा, पार्टीका जिल्ला कमिटी सल्लाहकार समितिका संयोजक समेत रहेका कोशी प्रदेशका सांसद राधाकृष्ण खनाल, एमाले क्षेत्रीय संयोजक धनबहादुर थेवे, पार्टी जिल्ला कमिटी सदस्य नरमाया कार्की, कोशी प्रदेशका पूर्व कृषिमन्त्री हिराकुमार थापा, शिक्षक महासंघ शिवसताक्षी नगरका अध्यक्ष बेनुप्रसाद कार्की, शिवसताक्षी नगर ६ नम्बर वडाका अध्यक्ष मनोज खुलाल कार्कीलगायतले शुभकामना मन्तव्य राखेका थिए।
पार्टीका नगर उपाध्यक्ष विष्णु प्रसाईले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव लक्ष्मी गुरागाईले गरेका थिए।