झापा,कात्तिक १५ । झापाको कनकाई वडा नं. ६ मा आगामी मंसिर १६ गते हुन लागेको वडाध्यक्ष पदको उपनिर्वाचनका लागि नेकपा माओवादी केन्द्रले उम्मेदवार घोषणा गरेको छ ।

पूर्व उपप्रधान तथा गृहमन्त्री मन्त्री नारायणकाजी श्रेष्ठलाई बोलाएर माओवादीले स्थानीय युवा गणेश थापालाई आज उम्मेद्वारको रुपमा घोषणा गरेको हो । कन्काई– ६ स्थित गायत्री सामुदायिक भवनमा नेकपा माओवादी कन्काईको ६ नं वडा कमिटीले शुभकामना आदानप्रदान तथा उम्मेदवार घोषणा कार्यक्रम राखेको थियो । नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुको प्रारम्भिक कमिटीमा बसेर २०५७ साल अघिदेखि नै विद्यार्थी राजनीतिमा सक्रिय रहेका थापा त्यसपछि नेकपा माओवादीको राजनीतिमा जोडिएर क्रियाशील छन् । हाल पार्टीको जिल्ला सदस्य रहेका थापाले साविक घैलाडुब्बा गाविसको पार्टी नेतृत्व सम्हालेका थिए ।

उम्मेदवार घोषणा कार्यक्रमलाई संबोधन गर्दै माओवादीका वरिष्ठ उपाध्यक्ष श्रेष्ठले भ्रष्टाचार गर्ने नयाँ ठाउँ खोज्न कांग्रेस र एमालेले नयाँ सरकार बनाएको आरोप लगाए । सुशासन , समृद्धि र सामाजिक न्यायतर्फ माओवादी नेतृत्वको सरकारले काम गरेको तर, अहिलेको सरकार यसमा चुकेको दावी गरे । उनले माओवादी पुरानै संकल्प लिएर घरदैलोमा आएको बताउँदै आधारभूत आवश्यकता पुरा गर्ने पार्टीको राजनीतिक उद्धेश्य रहेको जानकारी दिए । पार्टीलाई एकताबद्ध बनाएर शक्तिशाली बनाउनु पर्ने अहिलेको आवश्यकता रहेको उनको भनाई थियो ।

त्यस्तै माओवादीका प्रदेश उपाध्यक्ष मणिकुमार साम्पाङ बिजयले युवा नेता र जनताको पक्षका उम्मेद्वार गणेश थापा भएको भन्दै उनी विजयी भएपछि गर्ने सबै कामहरु पारदर्शी र जनमुखी हुने भन्दै मतदान गर्न आव्हान गरे । पार्टीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, पार्टीका केन्द्रीय सदस्य झलकसिंह दर्लामी सन्देश, केन्द्रीय सदस्य धर्मशीला चापागाई, युवा नेता तथा केन्द्रीय सदस्य रन्जित तामाङ, पार्टीका केन्द्रीय सदस्य हरिकुमार राना, प्रदेश उपाध्यक्ष मणिकुमार साम्पाङ बिजय, पार्टीका जिल्ला अध्यक्ष राजु आचार्य अग्निलगायतले थापालाई उम्मेद्वार घोषणा गरेका हुन् ।

अब तिहारलगत्तै उम्मेद्वारसहित घरदैलो कार्यक्रमको सुरुवात गर्ने पार्टीका नगर अध्यक्ष यामनाथ सेढाईले बताए । माओवादी केन्द्रका कनकाई–६ का वडा कमिटी अध्यक्ष रेवतबहादुर रेग्मीको अध्यक्षता तथा पार्टीका नगर सहसचिव कृष्ण खतिवडाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्