झापा, कात्तिक १६ । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईले महिलाविरुद्ध हिंसा हुने कुनै पनि कार्य आफूले नगरेको बताएका छन् ।

नेकपा एमालेनिकट अखिल नेपाल महिला संघ झापाले प्रसाईले दिने गरेका महिलाविरुद्धका अभिव्यक्तिहरुको तथ्य संकलन गरेर कानुनी कारबाहीको तयारी गरेपछि उनले प्रेस विज्ञप्तिमार्फत सो स्पष्टीकरण दिएका हुन् । प्रसाईले फरक विचार राख्ने व्यक्तिलाई सहन गर्न नसक्ने दृष्टिकोण राखी पत्रकार सम्मेलन गर्ने, जुलुस गर्ने र आफ्नो विरुद्धमा आमसंचारका माध्यममा प्रचार प्रसार गर्ने कार्य भइरहेकोमा त्यसप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएका छन् ।

‘ मैले राष्ट्र र सार्वजनिक हितका लागि बोलेको कुराबाट महिला हिंसा हुन सक्दैन । म महिलाहरुप्रति सँधै उच्च सम्मान गर्दछु ’उनले भनेका छन् ,‘ यो अभियान नेपालको सामाजिक, आर्थिक र राजनैतिक क्षेत्रमा महिलाहरुको महत्वपूर्ण भूमिका रहेको यथार्थतामा विश्वास राख्दछ र महिलाहरुको महत्वपूर्ण भूमिकालाई सम्मान र आदर प्रकट गर्दछ । महिलाहरुमाथि हुने सबै प्रकारका हिंसा विरुद्धमा यो अभियान सधै दृढ भएर लागिरहेको छ र लागिरहनेछ ।’

उनले सार्वजनिक पदमा आसिन व्यक्तिहरुको गलत प्रवृत्तिका विषयमा असल नियतले सार्वजनिक हितका लागि बोलेको विषयलाई लिएर आफूविरुद्ध विवादित किसिमका कपोलकल्पित कथनहरु बनाई आफ्नो इज्जत, प्रतिष्ठा र अभियानमा ठेस पुर्याउने कार्य गरेको आरोप लगाएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्