भद्रपुर, कात्तिक १६ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ औं जन्मजयन्तीको अवसर पारेर देवकोटा स्मारक संरक्षण समितिले चन्द्रगढीमा विविध कार्यक्रम सम्पन्न गरेको छ ।
भद्रपुर– ९ मुना सामुदायिक भवन चन्द्रगढीमा समितिले श्रष्टा सम्मान, शैक्षिक उन्नयन पुरस्कार तथा बाल कविता वाचन प्रतियोगिता सम्पन्न गरेको हो ।
समितिका अध्यक्ष राजु बरालको सभापतित्व तथा नेपाल संगीत नाट्य कला प्रतिष्ठानका प्राज्ञ सभा सदस्य हरिप्रसाद पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा मनोरथ दाहाल स्मृति साहित्य पुरस्कारबाट झापाका अग्रज पत्रकार तथा साहित्यकार नकुल काजीलाई नगद २० हजारसहित सम्मान गरिएको थियो । त्यस्तै स्रष्टा सम्मान तलु बास्केलाई प्रदान गरिएको थियो ।
कार्यक्रममा शैक्षिक उन्नयन पुरस्कारबाट वीरेन्द्र मावि चन्द्रगढीका उत्कृष्ट छात्र क्षितिज वन र छात्रा भूमिका खनाललाई नगद ५ हजारका दरले पुरस्कार प्रदान गरिएको थियो । बाल कविता वाचन प्रतियोगितामा सुमन रेग्मी प्रथम, प्राथना राजवंशी द्वितीय, निलम घिमिरे तृतीय र शोभा भुजेलले सान्त्वना पुरस्कार प्राप्त गरेका छन् । बाल कविता प्रतियोगितामा उत्कृष्ट हुने बाल कविहरूलाई नगदसहित पुरस्कृत गरिएको थियो ।
समितिका उपाध्यक्ष ज्ञानेन्द्र कटुवालले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव युवराज ढकालले गरेका थिए । कार्यक्रममा विभिन्न कवि तथा कवयत्रीहरूले आफ्ना कविता र गीत प्रस्तुत गरेका थिए ।