द्रोण अधिकारी गुहेली,
लागूऔषध दुर्व्यसन नियन्त्रणका लागि लामो समयदेखि क्रियाशील झापा भद्रपुरका इन्द्रप्रसाद ओलीले पाँचौं कृतिका रूपमा भर्खरै प्रकाशन गरेको लागूपदार्थ दुर्व्यसन न्यूनीकरणसम्बन्धी चेतनामुलक पुस्तक दिव्य दृष्टिले वर्तमान नेपाली समाजमा जटिल बन्दै जानुमा लागूऔषधलाई प्रमुख समस्याको रूपमा चित्रण गर्ने प्रयास गरेको छ । पुस्तकले समाज र राष्ट्र बिगार्ने दुर्व्यसनी खेलको संरक्षक को हो त ? भन्ने प्रश्नको उत्तर समेत खोज्ने प्रयास गरेको छ । पैसामुखी सामाजिक वातावणको बढोत्तरी भइरहेको वर्तमानमा थोरै लगानीबाट धेरै कमाउने बाटो राजनीति र सामाजिक संरचनाले खोजी गर्ने क्रममा लागूपदार्थको अबैध कारोवार फस्टाएको संकेत पुस्तकका अंशहरूले प्रष्ट पार्ने प्रयास गरेको देखिन्छ ।

चेतना नेपालका अध्यक्ष तथा प्रमुख प्रशिक्षक, राष्ट्रिय हिन्दु एकता मञ्चका अध्यक्षसमेत रहेका ओलीले पाँचौ कृतिसम्म आइपुग्दा नेपाली समाज र राजनीतिको विकृतबारे राम्रै जानकारी राखेर विषयवस्तु पस्कने प्रयास गरेको देखिन्छ । राजनीतिले सही गति लिन नसक्दा फिरङ्गीहरूले घुमफिरका नाममा लागूऔषधको दुर्व्यसनको व्यापार गरेर अरबौं रूपैयाँ नेपालबाट विदेश लगिरहेको पुस्तक पढ्दै जाँदा प्रष्ट हुन्छ । विदेशीहरू पर्यटक बनेर नेपाल प्रवेश गर्दैगर्दा सरकारी संरचनाले अबैध काम वा गतिविधि गर्यो कि गरेन भनेर चासो नलिँदा नेपाली समाजमा दुर्व्यसन छोडेर आउँदा भएको खर्चको दुई गुना पैसा कमाएर जाने गरेको अवस्था छ । यही अवस्था नै आजका पुस्ताको भोलिमाथिको खेलवाड तथा असल नागरिकविहीन राज्य बन्ने आधार रहेको पुस्तकको मुख्य विषय हो ।

आज विनासतिरको गन्तव्य तय गरिरहेको युुवापिँढीलाई त्यस्तो आचरणबाट हुने यो आत्मघाती डढेलोमा होमिनबाट जोगाउन सकिएन भने भोलिको नेपाल ‘जिउँदा लासहरूको देश’ बन्न सक्ने संकेत पुस्तकमार्फत लेखकले देखाउने प्रयास गरेका छन् । उनले यस पुस्तकमार्फत अनेक प्रमाणहरू र उद्धरणहरूका साथ कुलतबिरूद्ध चेतना प्रवाह गर्न चाहेका छन् । लागूपदार्थको जीवनघाती कुलतमा फसेका छोराछोरीका अभिभावकहरूका पीडा र मानसिक यातना समेटेर कुलतमुक्त छोराछोरीका अभिभावकहरू पनि त्रसित भएको अवस्था चित्रण गरेका ओलीले यस पुस्तकको मुख्य सन्देश बनाएर कुलतमुक्त वातावरणको कामना समेत गरेका छन् ।

कृतिभित्र कहिलेदेखि र कहाँबाट नेपाली समाजमा लागूऔषधको प्रकोप प्रवेश गर्यो भनेर खोज्ने प्रयास गरिएको छ । नेपालमा लागूऔषध ल्याउने र नेपाली युवा युवतीहरूलाई दुर्व्यसनी बनाउने काम हिप्पी–जिप्सीहरूबाट स्थापित भएको मानिन्छ । विदेशी पर्यटक सहज आवतजावतको वातावरण बनेपछि यो विनासकारी कुलतले खासगरी देशको भविष्यका कर्णधार युवापिँढीलाई नष्ट भ्रष्ट तुल्याउने अवस्था बढ्दो छ । सही समयमा लागूऔषध दुर्व्यसनका बारेमा सही जानकारी नभएको कारण धेरै युवा युवतीहरू लागूऔषध दुर्व्यसनको लतमा फसेका छन् । ड्रग्स माफियाहरू आफ्नो सञ्जाल फिजाउनका लागि गाउँसमाज हुँदै विद्यालय तहसम्म डुलन्ते विक्रेता खटाएर अरबौंको व्यापार गरिरहेका छन् । खासगरी १५ देखि १९ वर्ष उमेर समूहका किशोर—किशोरीलाई लागूपदार्थको दुर्व्यसनमा फसाउन सफल भएका माफियाहरूले आफ्नो कालो व्यापार फस्टाउन सफल भइरहेको चिरफार गर्ने प्रयास लेखकको छ । दुर्व्यसन रोकथाम गर्ने आवश्यकता दुर्व्यसनी भएका पीडित घरपरिवारले गरिरहेको भएपनि समाज र राष्ट्रको नेतृत्व गर्ने अगुवाहरूको प्राथमिकतामा नपरेका कारण लागूऔषध कारोवार तीव्र गतिमा बृद्धि भइरहेको पुस्तकले संकेत गरेको छ ।

लागूऔषध प्रयोगका कारण विनासतिरको गन्तव्य तय गरिरहेको युुवापिँढीलाई यो विनासकारी सङ्क्रमणरूपी डढेलोमा होमिनबाट जोगाउन सकिएन भने भोलिको नेपाल ‘जिउँदा लासहरूको देश’ नबन्ला भन्न सकिने अवस्थामाथि चिन्ता गरिएको छ । लागूपदार्थको जीवनघाती कुलतमा फसेका छोराछोरीका अभिभावकहरूका पीडा र मानसिक यातनाका भारीहरू देखेर कुलतमुक्त छोराछोरीका अभिभावकहरू पनि त्यस्तै हुने हो कि भनेर समाज संत्रस्त छ । रक्सीबाट सुरू हुने लागूपदार्थको दुर्व्यसन चरेस तथा हिरोइनमा गएर जीवनकै अन्त्य हुन्छ । विनासकारी आचरण बनाएर जीवनलीला समाप्त पार्ने युवायुवतीको संख्या दिनदिनै बढ्दै जानु देशका लागि भविष्य अन्धकार हुनु हो । दुर्व्यसनका कारण आर्थिक, सामाजिक र पारिवारिक विचलन समेत भोग्नु पर्छ । एउटा व्यक्तिको गलत आचरणले सयौं व्यक्तिमा नकारात्मक प्रभाव व्यहोर्नु पर्ने हुन सक्छ । यी तथ्य खोज्ने काम पुस्तकले प्रयास गरेको छ ।

पुस्तकमा लागूपदार्थका कारण सुदूरपूर्वको झापा पछिल्लो दशकयता निकै आक्रान्त भएको देखाउन खोजिएको छ । भारतसित खुल्ला सिमाना जोडिएको झापा लागूपदार्थ ओसारपसार गर्ने सहज मार्ग बनाएर कारोवार गर्नेदेखि प्रयोग गर्ने दुर्व्यसनीसम्मको संख्या उच्च भएको जिल्लामा पर्दछ । छिमेकी भारतीय बजारमा नेपाली युवायुवतीले सहजै खरिद गर्न पाउने लागूऔषध नेपालतिर प्रतिबन्धित भएपनि उतै खाएर फर्कने युवायुवतीको संख्या झापामा बढिरहेको पनि पुस्तकमार्फत संकेत गरिएको छ । यस्तो अवस्था भारतसित खुल्ला सिमाना जोडिएका नेपालभरिका सबै जिल्ला तथा स्थानमा रहेको प्रष्टोक्ति पुस्तकले दिने प्रयास गरेको छ । खासगरी पर्यटकीय क्षेत्रबाट प्रवेश गरेको लागूऔषध दुर्व्यसन वर्तमानमा नेपालभरि फैलनुमा राजनीति कुनै न कुनै रूपले दोषी भएको पढ्नेक्रममा प्रष्ट हुन्छ ।

यसअघि ओलीले लागूऔषधसम्बन्धी नै विभिन्न पुस्तकहरू प्रकाशित गरेका थिए । ती पुस्तकले समेट्न नसकेका नयाँ नयाँ तथ्य यस पुस्तकले समेट्ने प्रयास गरेको देखिन्छ । नेपाल प्रहरीमा लामो समय सेवारत रही लागूऔषध दुर्व्यसन नियन्त्रणको क्षेत्रमा निरन्तर क्रियाशील छन् । प्रहरी नायव निरीक्षक पदबाट उनले २०६२ सालमा स्वेच्छिक अवकास पाएपछि स्थलगत अध्ययन र अनुसन्धानमा लागेर नागरिकमा चेतना विस्तार गर्न पुस्तकमार्फत प्रयासरत देखिन्छन् । निरन्तर झापामा रहेर लागूऔषध दुर्व्यसनबिरूद्ध विभिन्न चेतनामुलक कार्यक्रम गरिरहेका ओली धार्मिक जागरण अभियानमा समेत क्रियाशील छन् । उनको पछिल्लो पुस्तकले बालबालिका र युवा पुस्ता बचाउने र भविष्य सुन्दर बनाउने हो भने लागूपदार्थको कारोवार बन्द गर्न राज्य जिम्मेवार हुनै पर्ने आवाज उठाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्