झापा, कात्तिक १७ । कुटी काट्ने मेसिनले हात काट्दा झापा दमकका एक व्यक्ति घाइते भएका छन् ।
आज दिउँसो अन्दाजी १२ः३० बजे कमल गाउँंपालिका वडा न. ६ स्थित निरौला कृषि गाई फर्ममा काम गर्ने दमक –४ बस्ने ४० वर्षीय बिनोद भुर्तेलले इलेक्ट्रोनिक मेसिनबाट कुटी काट्ने क्रममा मेसिनले उनको बायाँ हातको पाँच वटा औँला काटेको हो ।
घाइते भुर्तेललाई निम्स अस्पताल दमकमा सामान्य उपचारपश्चात् थप उपचारको लागि बिराट मेडिकल कलेज विराटनगर रेफर गरिएको छ । अस्पतालले जानकारी गराउनसाथ इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी टोली खटिएर सो सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
झापामा कुटी काट्ने मेसिनबाट करेन्ट लाग्दा दुईजनाको मृत्यु भइसकेको छ । गत भदौ २९ गते मेचीनगर नगरपालिका वडा नं १३ विरान टोल बस्ने ४८ वर्षीय लक्ष्मण कार्कीले गाईवस्तुलाई खुवाउनका लागि विद्युतबाट चल्ने मेसिनबाट कुटी काट्दा अचानक सर्ट भई उनलाई करेन्ट लागेको थियो । घाइतेलाई उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएकोमा उपचारका क्रममा मृत्यु भएको थियो ।
त्यस्तै गत वर्षको भदौमा गाई भैँसीलाई खुवाउन परालको कुटी काट्ने क्रममा विद्युतीय मेसिनबाट करेन्ट लाग्दा अर्जुनधारा नगरपालिका–९ का २४ वर्षीय अमृत रेग्मीको मृत्यु भएको थियो ।