झापा, कात्तिक १८ । शुक्रवार राति विराटनगरबाट पक्राउ परेका जुवाडेहरुलाई छुटाउन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दबाब दिएका छन् ।
नयाँ गुद्री थोक तथा बिक्रेता बजार व्यवस्थापन समिति विराटनगरका अध्यक्ष पशुपति भगतसहित १० जना जुवाडेलाई छुटाउन मुख्यमन्त्री कार्की लागेको प्रहरी स्रोतले जनाएको छ । पक्राउ परेकालाई जिल्ला प्रशासन कार्यालयमा उपस्थित गराई रिहा गर्नुपर्नेमा कार्यालय नखुली उनीहरुलाई रिहा गर्न लागिएको स्रोतले जनाएको छ । हिजै उनीहरुलाई छाड्न मुख्यमन्त्री कार्कीले आदेश दिएको स्रोतको भनाई छ । प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई पनि जुवाडे छाड्न सकारात्मक देखिएका छन् । ती जुवाडेहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । पक्राउ परेका जुवाडेलाई जिल्ला प्रशासन कार्यालय खुलेपछि म्याद थप गरि अनुसन्धान सुरु गर्ने प्रहरीले जनाएको छ ।
विशेष सूचनाको आधारमा शुक्रबार राति विराटनगर महानगरपालिका–११ स्थित संगम पार्टी प्यालेसबाट उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीहरूको साथबाट १० लाख ६ हजार ९९५ रुपैयाँ नगद र पाँच सेट ताससमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रबक्ता डीएसपी बेदप्रसाद जोशीले जानकारी दिए ।
पक्राउ पर्नेहरुमा पशुपति भगतसहित यातायात व्यवसायी विराटनगर ११ बस्ने वर्ष ६१ का राजन कँडेल, सोही ठाउँका वर्ष ४१ का टुनटुन शर्मा, वर्ष ४७ का सुरेन्द्र ठाकुर, वर्ष ५० का विरेन्द्र साह , विराटनगर ३ बस्ने वर्ष ५५ का पेट्रोलियम व्यवसायी ध्रुव सिग्देल, विराटनगर ५ बस्ने वर्ष ५५ का मनिराज प्रसाई, वर्ष ५० का बाबुराम कट्टेल ,वर्ष ४६ का लिला सहनी र पाटी प्यालेस संचालक वर्ष ५९ का पदम श्रेष्ठ रहेको डीएसपी जोशीले बताए ।