झापा, कात्तिक १८ । सुनसरीको बराहक्षेत्र नगरपालिका– ३ नडाहास्थित एक घरबाट प्रहरीका असईसहित १५ जना जुवाडे जुवाको खालबाट पक्राउ परेका छन् ।
जीवन कार्कीको घरमा जुवा खेलाइरहेको सूचना प्राप्त भएपछि प्रहरीे टोलीले नौ लाख ६८ हजार नगदसहित १५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा ललितपुर सातदोबाटो घर भई हाल इटहरी– १ बस्ने ४४ वर्षीय नवराज राई , इटहरी– १ बस्ने ५१ वर्षीय प्रदीप तामाङ , बराहक्षेत्र– ५ बस्ने २७ वर्षीय नारायण कार्की , भोजपुर आमचोक बस्ने ४१ वर्षीय दुर्गाराज राई , बराहक्षेत्र– ३ बस्ने ३२ वर्षीय विदुर कार्की , बराहक्षेत्र– ८ बस्ने २५ वर्षीय खड्गबहादुर विष्ट , बराहक्षेत्र– ३ बस्ने जीवन कार्की ,बराहक्षेत्र– ३ बस्ने दिनराज राई रहेका छन् ।
त्यस्तै क्यासिनो खेलाडी बराहक्षेत्र– ३ का उत्तम मगर पक्राउ परेका छन् । उनले दशैतिहारमा करिव ३ करोडको जुवा खेलेको बताइएको छ । त्यस्तै प्रहरीका असई रेवत थापा पनि जुवाको खालबाट पक्राउ परेका छन् । उनी बराहक्षेत्र– ३ का हुन् ।
त्यस्तै रामधुनी– ३ का शंकर लुइटेल, भोजपुर हतुवागढी बस्ने ज्ञानबहादुर राई , बराहक्षेत्र– ३ का खगेन्द्र कार्की र दिपेन्द्र कार्की पनि पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख सुमनकुमार तिमल्सिनाका अनुसार जुवाको खालबाट १२ थान मोबाइल पनि बरामद गरिएको छ । आज बिहानको राति ३ बजे प्रहरीले जुवाको अखडामा छापा मारेको थियो ।
अभियुक्तहरूलाई महेन्द्रनगरस्थित इलाका प्रहरी कार्यालयमा राखेर अनुसन्धान थालिएको छ । उनीहरूबाट केही सार्वजनिक (अपराध र सजाय) ऐन, २०२७ को वर्खिलाप कसूर भएकाले सोही ऐनअनुसार कारबाही प्रक्रिया अघि बढाइने जनाइएको छ ।