झापा , कात्तिक १९ । ओखलढुंगाको चिसंखुगढीमा देउसी खेल्ने क्रममा विवाद हुँदा दुईजना घाइते भएका छन् ।
गएराति ९.५० बजे चिसंखुगढी –६ भदौरेमा सोही ठाउँ बस्ने अन्दाजी १७ वर्षीय अन्जन गदैली, उनका दाजु अन्दाजी २६ वर्षीय सोमबहादुर र सोही ठाउँ बस्ने अन्दाजी ३० वर्षीय बिराज गदैलीबिच देउसी खेल्ने क्रममा विवाद भएको हो । बिराज गदैलीले कुटपिट गरी भाइ अन्जन गदैलीको टाउको फुटाइदिएका छन् भने उनका दाजु सोमबहादुरको अनुहारमा चोट लागेको छ । घाइते दुवै दाजुभाइलाई उपचारको लागि सामुदायिक मिसन अस्पताल ओखलढुंगा पठाइएको छ । आज बिहान ५ बजे प्रहरी चौकी निशंखेमा खबर प्राप्त भएपछि प्रहरी टोली खटिएर कुटपिट गर्ने बिराज गदैलीको खोजतलास भइरहेको जनाइएको छ ।