नकुल काजी,
साहित्यमा समाजको अनुहार बिम्बित हुनु पर्दछ, चाहे त्यो सुन्दर होस् वा असुन्दर । यो स्थापित परम्परागत विश्व–मान्यतामाथि अहिले ‘आधुनिकता’–को प्रकोप क्रमशः बढ्दै गएको छ । यसलाई के भनेर बोधगम्य व्याख्या गर्ने भन्ने विषय पनि अक्करिलो बनी भिमलाउँदै गएको अवस्था छ अहिले । किनभने, ‘मान्छेको विचार अन्तर्राष्ट्रिय’ हुँदै गएको सेरोफेरोमा नेपाल चाहिँ त्यसबाट अछुतो रहने कुरै भएन । अतः माया–प्रीतिका गाथा सम्मोहक हुनु मानव–मनोविज्ञानको एउटा यथार्थ त हुँदै हो नै । अहिलेको राजनीतिक परिवेशद्वारा परिवेष्टित समाजको रुचिले धनी र गरीबको वैभिन्न्यका फलाकोले भरिभराउ लेखनलाई ‘साहित्य’ मान्ने एकथरि चलन छ । अथवा, शोषक र शोषितका भावनात्मक र भौतिक द्वन्द्वका कथा–व्यथा इत्यादिलाई नै अधिकतर ‘साहित्य’–को परिभाषामा कोच्ने गरिँदैछ । समाजलाई शिष्ट र सभ्य जीवनको बाटो देखाउने किसिमको साहित्य उत्सर्जित हुनुपर्छ भन्ने भावभूमिमाथि उभिएको साहित्यिक कृतितर्फ पाठक–समाजको प्रेरणाप्रद खायस हुन कम हुँदै गएकाले त्यतातिर त्यस्तो भावमार्गी कलमकर्मीहरूका उत्साह पनि टाक्सिँदै गएका छन् । यसरी ‘साहित्य’ समग्रमा पुस्तकको शोभा मात्रमा सीमित हुने दिशातर्फ अग्रसर भइरहेको भान हुन्छ ।
अत्यन्तै घातक स्वरूपमा फैलिरहेको लागूपदार्थको प्रयोगबाट ‘देशका भावी कर्णधार’ कलिला किशार–किशोरी, युवा–युवतीदेखि वयस्कहरू समेतलाई कसरी गाँज्दै लगेको छ भन्ने यथार्थ सबैका सामू नाङ्गो छ । यसको नालीबेलीसहित यो समस्याको निदान र समाधानका विश्वस्त उपायहरू समेटिएको पुस्तक ‘दिव्य दृष्टि’ प्रकाशमा आएको छ । लागूपदार्थ र लागूऔषधको दुर्व्यसन विरुद्धको अभियानमा विगत दुई दशकदेखिका परिचित र सक्रिय अभियन्ता इन्द्रप्रसाद ओलीको सो पुस्तक गएको असोज १९ गते एक भव्य समारोहमा लोकार्पण पनि भइसकेको छ । तर, झापाका एकाधबाहेक अधिकांश अखबारहरू र श्रव्य एवम् श्रव्यदृश्य सूचना माध्यमहरूले उक्त पुस्तकको समाज–सम्पृक्त ओजनबारे थाहा पाएर पनि केही भन्ने सदाशयसम्म पनि राखेको पाइएन । पुस्तक लोकार्पण भएको भोलि र पर्सिसम्मका सूचना माध्यमहरूले कुनै–कुनै सहकारीमा बचतकर्ता पुरस्कृत भएका वा प्रहरीले अपराधका अभियुक्त पक्रेका समाचारहरू आफ्ना पन्ना र समयमा अँटाएका देखिए । तर, झापाकै र झापालाई गौरवान्वित तुल्याउने समाज सुधारलक्षित अभियानका चिन्हित अभियन्ताको ठूलो खोज–अनुसन्धान, तथ्याङ्क संकलन, सरकारी अभिलेखहरूको उजागर र अनुभवको घोलनबाट उत्पादित पुस्तक प्रकाशन अँटेन । वस्तुतः यसो हुनु सूचनासेवा (पत्रकारिता)–को सारभूत सिद्धान्त अनुकूल थियो वा थिएन – आत्मालोचनाको विशेष विषय त हुँदै हो ।
सरकारले पटक–पटक बनाएका ऐन, निर्देशिका, कार्यविधिहरू, अनेक खर्च भुटेर संकलित तथ्याङ्कहरू मन्त्रालय र विभागीय फाइलहरूमा कोचेर राखेको पोल यो पुस्तकले खोलेको छ । अझ थप उदेकलाग्ने विषयको यो पुस्तकले फोटोकपी नै यस्तो प्रस्तुत गरेको छ ः–
“ नेपाल सरकार, गृह मन्त्रालयको मिति २०७६÷०१÷ २९ को निर्णयानुसार नयाँ शासकीय संरचना अनुरूप समुदायस्तरदेखि नै स्वस्थ, सभ्य, सदाचारी र अपराधमुक्त समाज निर्माण गर्ने राष्ट्रिय लक्ष्य हासिल गर्न सबै तहका सरकारबाट लागूऔषध रोकथाम र नियन्त्रण कार्यक्रम व्यवस्थित रूपमा सञ्चालन गर्नुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै सबै स्थानीय तहहरूलाई आ–आफ्नो जिम्मेवारीअनुरूप संघीय र प्रादेशिक नीति तथा कानूनसँग तादात्म्य मिलाई प्राथमिकताका साथ अभियानको रूपमा सञ्चालन गर्ने व्यवस्था गर्न मन्त्रालयमार्फत सबै स्थानीय तहमा परिपत्र गर्ने निर्णय भएको व्यहोरा अनुरोध छ । स्वीकृत ‘लागूऔषधको नियन्त्रण र रोकथामसम्बन्धी कार्यक्रम सञ्चालन सम्बन्धमा स्थानीय तहलाई मार्गदर्शन २०७६“ यसैसाथ संलग्न राखी पठाइएको छ । यो मार्गदर्शनअनुरूप लागूऔषध रोकथाम तथा नियन्त्रण सम्बन्धमा सबै स्थानीय तहहरूलाई वा आफ्नो नीति, योजना, कार्यक्रम र बजेट समन्वयात्मक रूपमा निरोधात्मक तथा प्रबर्द्धनात्मक कार्यक्रम सञ्चालन गर्न परिपत्र गरिदिने व्यवस्थाको लागि निर्णयानुसार अनुरोध छ ।’’
उपर्युक्त परिपत्रको पुछारमा देशका सबै जिल्ला प्रशासनलाई “मार्गदर्शन कार्यान्वयन गर्नका लागि निरन्तर रूपका स्थानीय तहहरूसँग समन्वय गर्ने “ आदेशका साथ बोधार्थ पनि दिइएको छ ।
उल्लिखित परिपत्र उक्त निर्णय भएको दुई दिनपछि अर्थात् २०७६ ÷०१÷३१ गते मन्त्रालयमा टाइप गरेर शाखा अधिकृत सुजता खत्रीको दस्तखत र च.नं. ७५४ धस्काएपछि आज पाँच वर्ष हुनलाग्दासम्म कतै नपठाई फाइलको कोक्रोमा हालेर सिंहदरवारको वातानुकूल कोठामा सुताइराखेको अवस्थामा फेला पारेर यो पुस्तक ( ‘दिव्य दृष्टि’)–मा ब्यूँझाइएको पाइन्छ । अतः देशको शान्ति–सुरक्षाको उपल्लो जिम्मेवार मन्त्रालयभित्रै यस्तो अन्यथा अर्थ लागेर डुङ्ग गन्हाउने गेजु हुन्छ भने लागूपदार्थका व्यापारी– साहूहरू किन नपन्पाउन् भन्ने अवधारणा लेखकबाट प्रस्फुटित भएको हुनसक्छ । यस्ता कडा–नरम दुई दर्जन सरकारी छलछामका पोल यो पुस्तकले खोलेको छ । अन्तर्राष्ट्रिय जगतलाई नै उद्विग्न र भयभीत तुल्याइरहेको लागूपदार्थ दुर्व्यसनको डरलाग्दो डढेलोले देशका नयाँ पिँढिलाई विनाशतिर धकेलिरहेको देखी–देखी राज्य– दायित्वको माथिल्लो निर्वहन तहमै यस्ता–यस्ता चौपट्टै भद्दा क्रियाकलापका तस्वीर सप्रमाण यो पुस्तकले काला अक्षरले आँकेको छ । यो लगभग २ करोड ९३ लाख कुल जनसंख्या भएको मुलुकका लगभग ८० लाख ऊर्जावान युवा–वयस्कहरू विदेशिइसकेका छन् । यहाँ रहेका किशोर–नवयुवाहरूलाई यो भूसको आगोरूपी कुलतले घेर्ने समस्यालाई बेरोक छोडिदिने हो भने देश यो दशक पार नगर्दै कि त ‘नमरी बाँचेका’–हरूको बृद्धाश्रम बन्नेछ नत्र देश अन्तर्राष्ट्रिय सीमारेखाभित्रको माटो मात्रमा सीमित हुनेछ । देशको परिभाषामा सम्पृक्त सबै अवयवहरू अर्थहीन हुनेछन् । लागूपदार्थको दुर्व्यसनविरुद्ध अथक अभियन्ता इन्द्रप्रसाद ओलीको यो पाँचौ पुस्तकाकार कृति ‘दिव्य दृष्टि’–ले यही सन्देश हाम्रो समाजमाथि प्रक्षेपण गरेको बुझिनु पर्दछ । त्यसैले यसलाई “सबैले पढ्नैपर्ने पुस्तक” भनिएको हो ।