झापा,कात्तिक १९ । झापामा सवारी दुर्घटना अत्यधिक बढ्ने क्रममा मोटरसाइकलको ठक्करबाट फेरि एकजना बालकको मृत्यु भएको छ ।

आज बिहान अन्दाजी ११ बजेको समयमा कन्काई– ५ चप्रामारीस्थित भित्री कच्ची सडकखण्डमा मे ११ प ३३८ नम्बरको मोटरसाइकलले बाटोमा खेल्दै गरेका सोही ठाउँ बस्ने बिनोद पाठकका ७ वर्षीय छोरा सोहन पाठकलाई ठक्कर दिएको थियो । घाइते बालकलाई उपचारको लागि बिर्तासिटी अस्पताल पठाएकोमा अस्पताल पुर्याउनासाथ डाक्टरले मृत घोषणा गरेका थिए ।
दुर्घटनापछि मोटरसाइकल चालक सोही ठाउँ बस्ने अन्दाजी २२ वर्षीय आजत मिया फरार भएका छन् । मोटरसाइकल इलाका प्रहरी कार्यालय सुरुङ्गाको नियन्त्रणमा रहेको र फरार चालकको खोजतलास भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी वरिष्ठ नायव निरीक्षक अर्जुन सोडारीले जानकारी दिएका छन् ।
यसअघि कात्तिक १६ गते सवारी दुर्घटनामा परी घाइते भएका दुईजनाको आजै बिहान उपचारका क्रममा मृत्यु भएको थियो ।