झापा, कात्तिक २० । सप्तकोशी नदीमा आएको बाढीसँगै लोपोन्मुख अवस्थामा पुगेका खरमजुरको वासस्थान फराकिलो भएको छ । बाढीले अन्य जीवजन्तु र पन्छीलाई प्रतिकूल प्रभाव पारे पनि नदी उकास क्षेत्रको टापुका घाँसे मैदानमा आश्रित खरमजुरको वासस्थान भने फैलिएको हो । बाढीसँगै नदीमा बगेर आउने लेदो, ग्रेगरबाट बालुवाको टापु बनेपछि खर मजुरको वासस्थान फराकिलो भएको हो ।
खर मजुरको वासस्थान नदीको बाढीसँगै फराकिलो भएको वरिष्ठ चराविद् डा. हेमसागर बराल बताउछन् । उनी भन्छन्, “खरमजुरको जीवन चक्र नै घाँसे मैदान हो । बाढीसँगै बगेर आउने बालुवा, लेदोले नदीमा टापु बनाउने हुँदा खर मजुरको वासस्थान फराकिलो भएको हो । यस्तो क्षेत्रमा घाँस, खर राम्रोसँग फस्टाएर आउने हुँदा वासस्थान पनि सुरक्षित भएको छ ।” उनका अनुसार प्राकृतिक रूपमा आउने बाढीले खर मजुरको वासस्थानमा दीर्घकालीन फाइदा हुन्छ ।