झापा, कात्तिक २० । छठपर्व सुरु भएसँगै सुनसरीमा केराको व्यापार बढेको छ । छठ पूजामा अनिवार्य प्रसाद सामग्रीको रूपमा केरा प्रयोग हुने भएकाले केराको माग बढेको हो ।
छठमा केराको अत्याधिक माग भएपछि जिल्ला सदरमुकाम इनरुवासहित विभिन्न स्थानीय तहमा अहिले केराको मूल्य अन्य मौसमभन्दा तेब्बर रुपमा बढेको उपभोक्ताहरुले बताएका छन् । छठपर्वका लागि अत्याधिक बिक्री हुने केरा यस वर्ष प्रति कोसा १५ रुपियँसम्म र प्रति घरी पाँच सयदेखि एक हजार पाँच सय रुपियाँमा बिक्री भइरहेको छ । विगतको वर्षमा प्रति कोसा पाँच रुपियाँसम्म र प्रति घरी १५० रुपियाँदेखि पाँच सय रुपियाँमा खरिद बिक्री भएकोमा यस वर्ष निकै महँगोमा खरिद गर्नुपरेको व्रतालु उपभोक्ताहरूले बताएका छन् ।
इनरुवा ९ का भोला यादवले गत वर्ष डेढ सयदेखि पाँच सयसम्ममा पाउने केराको घरी यसवर्ष तेब्बर बढी मूल्यमा खरिद गर्नुपरेको बताए । इनरुवा –१० का दीपेश गुप्ताले यतिका महँगोमा कहिले पनि केरा किन्नु नपरेको गुनासो गरे ।
उपभोक्तालाई केरा महँगो भएपछि गुनासो आए पनि किसान भने निकै खुसी भएको कृषि प्राविधिक भुवनेश्वर यादवले बताए । अरुबेला खासै केराको सोचे जस्तो मूल्य नपाएपछि छठमा केराको घरी चढाउने भएकाले महँगोमा बेच्न पाएको इनरुवाका किसान श्याम यादवले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्