लक्ष्मी उप्रेती
मेचीनगर । गत वर्षको तिहार र छठ पर्वको तुलनामा यसपटक झापाको मेचीनगरमा बत्तीको किनमेल बढेको छ ।
७० देखि ८० प्रतिशत व्यापारमा वृद्धि भएको व्यवसायीहरुको भनाई छ । । तिहारको समयमा यस्ता बत्ती धेरै जोडिने भएकाले अन्य समयको तुलनामा तिहारमा माग दोब्बर हुने गर्दछ ।
यसअघिका तिहार र छठमा भारतीय सीमावर्ती बजारमा गएर उपभोक्ताहरुले सामान खरिद गर्ने गरेका थिए । यसपटक मेचीनगर नगरपालिकाले प्लाष्टिकका फूल प्रयोग नगर्न आग्रह गरेपछि स्थानीय प्रशासनले सीमा नाकामा कडाई गरेसँगै उपभोक्ताले स्थानीय बजारमा सामान खरिद गरेका थिए ।
उपभोक्ताहरुले स्थानीय बजारबाटै सामान खरिद गरेका कारण बजारमा यस्ता वस्तुको माग बढेको व्यवसायीहरुले प्रतिक्रिया दिएका छन् । तिहारमा रंगी बिरंगी झिलिमिली लाइट, बत्ती जोड्ने प्रचलन छ । यसअघिसम्म यस्ता वस्तु खरिद गर्न मेचीनगरवासीहरु सीमावर्ती पानीट्यांकीलगायत नक्सलबारी, सिलिगुडी, बागडुग्रा, बतासी, अधिकारी खोरीबारी बजार धाउने गरेका थिए ।
यसपटक भने सीमाक्षेत्रमा आवतजावतमा कडाई गरेसंगै उपभोक्ताहरुले स्थानीय बजारबाटै सामान खरिद गरेपछि झण्डै ७० देखि ८० प्रतिशतले विक्री बढेको एकता ट्रेडर्स इलेक्ट्रोनिक्स पसलका सञ्चालकको भनाई छ । दिपावलीको समयमा बल्बको बिक्री पनि दुईगुणाले बढेको उनको भनाई छ ।