बिर्तामोड, कात्तिक २१ । झापामा यस वर्ष अरु ठाउँभन्दा बिर्ताबजारको छठ पूजाको चर्चा बढी छ । ५० हजारभन्दा बढी बत्ती बालेर तीन दिन अघिदेखि झिलिमिली बनाएपछि हेर्न आउने , सेल्फी खिच्ने र टिकटक बनाउनेका लागि आकर्षणको केन्द्र बनेको हो बिर्ताबजारस्थित अधुवा खोलाको छठ ।

आफ्नो ठाउँ छोडेर बिरिङ गएकाहरुलाई फर्काउन आयोजक नेपाल मधेसी समाज सेवा समितिले बिर्ताबजारमा भव्य छठ पूजाको आयोजना गरेको छ । समितिले बिर्ताबजारको चौकदेखि डोमालाल रंगशाला जाने बाटोसम्म , उत्तरतर्फ यातायात ब्यवस्था कार्यालय जाने बाटोसम्म करिव ८ सय मिटर बाटोभरि बत्ती टांगेर झिलिमिली पारेको छ ।

एक–डेढ फुटको फरकमा बाटोभरि बत्ती बालिएको मधेसी समाज सेवा समितिका अध्यक्ष रामेश्वर मण्डलले बताए । उनले छठ पूजालाई आकर्षक बनाउन बत्ती , टेन्ट , स्टेजलगायतको भव्य तयारी गरिएको जानकारी दिए । साँझ परेपछि त्यस ठाउँमा रमाइलो गर्नेहरुको भीड लाग्ने गरेको छ । राति नसुतेर फोटो खिच्ने, टिकटक बनाउनेहरुको भीड लाग्ने गरेको अध्यक्ष मण्डलले सुनाए । ‘साँझ परेपछि मानिसहरुको भीड लाग्छ ’ उनले भने । बत्ती बालेकै दिन आफूले टिकटक बनाएको बिर्तामोड ३ का वडा सदस्य हरि बास्कोटाले बताए । हिजो साँझ कोशी प्रदेशका खानेपानी , सिंचाई तथा ऊर्जा मन्त्री एकराज कार्की , कोशी प्रदेश सभा सदस्य छबि चुडाल र बिर्तामोड–३ का वडाध्यक्ष मदन बुढाथोकीले समेत उक्त रमाइलो पूजास्थलको अवलोकन गरेका थिए ।

यस बर्ष छठ पूजाका लागि त्यहाँ २ सय पन्डालअन्तरगत ४ सय ब्रतालुहरुका लागि डाला तयार गरिएको गरिएको छ । आर्थिक अवस्था कमजोर भएका बिपन्न ब्रतालुहरुका लागि निःशुल्क डालाको ब्यवस्था गरिएको समेत अध्यक्ष मण्डलले बताए । पूजा सम्पन्न गर्नका लागि बिभिन्न समितिहरु गठन गरिएको छ । छठ पूजा सेवा समितिको संयोजकमा संजय शर्मा रहेका छन् । यसैगरी अर्थ संयोजकमा प्रकाश महत्तो, टेन्ट संयोजकमा गनु सहनी र उमेश चौधरी, घाट ब्यवस्थापन समितिमा शम्भुकुमार शाह, मोहनकुमार झा, विवेक शाह, अमर पट्टेल, रेखदेख समितिमा कला राउत, किस्सु शाह, नरेश शाह र सल्लाहकार समितिमा दिलिप सिंह र उदय शंकर शाह रहेको बताइएको छ ।

पूजा सम्पन्न गर्न अनुमानित ७ लाख रुपैयाँ खर्च हुने र ब्रतालु, भक्तजन र स्थानीय तहको सहयोगमा आर्थिक ब्यवस्थापन गरिने साथै अपुग खर्च समितिले ब्यहोर्ने संयोजक संजयकुमार शर्माले जानकारी दिएका छन् ।

उक्त पूजास्थलमा १० हजार बढी भक्तजनहरुको उपस्थिति रहने आयोजक संस्थाले अनुमान गरेको छ । अघिल्ला बर्षहरुका छठ पूजामा बिर्तामोड ३, ४ र ५ नम्बरका वडालाई लक्षित गरिएको भएपनि यस बर्ष भने बिर्तामोड नगरका १० वटै वडाका ब्रतालुहरुलाई लक्षित गरिएको बताइएको छ । अधुवा खोलालाई छोडेर बिरिङ गएकाहरु फर्किन थालेको संयोजक शर्माले बताए । गत वर्ष ७ परिवार बिरिङबाट फर्किएको र यस वर्ष २० भन्दा बढी परिवारले बिरिङ नगएर बिर्ताबजारमै छठ गर्ने भएको उनले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्