झापा , कात्तिक २१ । आगलागीमा परी गंभीर घाइते भएका नेपाली सेनाका भूतपूर्व सैनिक जयप्रकाश राईलाई थप उपचारका लागि सेनाको विमानबाट काठमाडौ लगिएको छ ।
पाँचथरको फिदिम–२ साम्दिन निवासी ६२ वर्षीय राईको घरमा हिजो दिउँसो ४ बजे आगलागी भएको थियो । आगलागीबाट करिव ८५ लाख बराबरको क्षति भएको थियो भने घरधनी राई घाइते भएका थिए । शरीरको विभिन्न भागमा आगोले जलेर घाइते भएका राईलाई गणेशमानसिंह सामुदायिक अस्पताल पाँचथरमा प्राथमिक उपचारपश्चात् थप उपचारको लागि गएराति ९.४५ बजे बीएण्डसी अस्पतालमा ल्याइएको थियो । बिर्तामोडस्थित बीएण्डसी अस्पतालको आइसियुमा उपचार भइरहेको थियो ।
आज बिहान ९.४७ बजे चन्द्रगढी विमानस्थलमा काठमाडौंदेखि नेपाली सेनाको विमान NA–064 sky truck आएर राईलाई थप उपचारको लागि काठमाडौं लिएर गएको हो ।साथमा उनकीे श्रीमती दिलकुमारी राई गएको जनाइएको छ ।