झापा , कात्तिक २१ । अमेरिकामा मंगलबार भएको राष्ट्रपतीय चुनावमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प दोस्रो पटक विजयी भएका छन् ।
डेमोक्रेटिक पार्टीकी उम्मेदवार उपराष्ट्रपति कमला ह्यारिसलाई पराजित गर्दै अमेरिकाको ४७ औं राष्ट्रपतिमा ट्रम्प निर्वाचित भएका हुन् । एपीका अनुसार रिपब्लिकन उम्मेदवार ट्रम्पले कम्तीमा २ सय ७९ इलेक्टोरल मत पाएका छन् । अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुन कुल ५ सय ३८ मतमध्ये कम्तीमा २ सय ७० इलेक्टोरल मत ल्याउनुपर्छ । डेमोक्रेटिक पार्टीकी उम्मेदवार उपराष्ट्रपति ह्यारिसले २ सय २३ इलेक्टोरल मत प्राप्त गरेकी छन् । ४ वटा इलेक्टोरल मतको परिणाम आउन बाँकी छ ।
अमेरिकाका ५० राज्यका लागि जनसंख्याका आधारमा ५ सय ३५ र संघीय राजधानी ‘डिस्ट्रिक्ट अफ कोलम्बिया’का लागि ३ इलेक्टोरल मत निर्धारण गरिएको छ । अमेरिकाका ५० राज्यमध्ये धेरै जसो राज्यले परम्परागत रूपमा राष्ट्रपतीय निर्वाचनमा प्रायः एउटै पार्टीलाई जिताउने गरेका छन् । डेमोक्रेटिक दलका उम्मेदवारको पक्षमा रहेका राज्यलाई ‘ब्लु’ र रिपब्लिकन उम्मेदवारको पकड रहेका राज्यलाई ‘रेड’ स्टेटका रूपमा चिनिन्छ । दुईमध्ये जुनसुकै उम्मेदवार विजयी हुनसक्ने राज्यलाई ‘स्विङ स्टेट्स’ भनिन्छ ।