झापा , कात्तिक २२ । शिकार खेल्न गएका खोटाङ केपिलासगढी गाउँपालिका वडा नं.१ पिपिङ बस्ने ५८ वर्षीय जगतप्रसाद राईको भरुवा बन्दुक पड्केर मृत्यु भएको छ ।

उनी सोही ठाउँको हातीढुङ्गे जंगलमा शिकार खेल्न गएका थिए । हिजो साँझ अन्दाजी ७ बजे भरुवा बन्दुक पड्केको आवाज सुनेर आफन्तहरुले गई हेर्दा जंगलमा उत्तानो परेको अबस्थामा उनी मृत फेला परेका थिए ।
घटनाबारे जानकारी गराएपछि प्रहरी टोलीले आज बिहान घटनास्थल पुगेर सुरक्षित राखेको र थप अनुसन्धान तथा कानुनी प्रक्रिया शुरु गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
मृतक जगतप्रसाद राई र सोही ठाउँ बस्ने २५ वर्षीय चेतन राई शिकार खेल्न गएको भन्ने बुझिएको छ । घटनास्थलमा एउटा भरुवा बन्दुक मृतकको साथमा रहेको र अर्को भरुवा बन्दुक मृतकभन्दा अन्दाजी ६–७ मिटर पर झाडीमा फेला परेको छ । मृतक राईसंग शिकार खेल्न गएका साथी चेतन राई तत्काल फरार रहेको प्रहरीले बताएको छ ।