झापा,कात्तिक २२ । छठ पूजामा हुने भीडभाडमा कुनै अप्रिय घटना हुन नदिन झापामा १५ सय बढी सुरक्षाकर्मी परिचालन गरिएको छ ।

जिल्लाका ५६ स्थानमा आयोजना गरिएको छठ पूजाको सुरक्षाका लागि ११ सय जना नेपाल प्रहरी , ४०० जना सशस्त्र प्रहरी र ५६ जना ट्राफिक प्रहरी परिचालन गरिएको हो । जिल्लाका ५६ ठाउँमा छठ पूजा आयोजना गरिएको र १५ ठाउँमा ठूलो संख्यामा सामूहिक घाट निर्माण गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए । उनले करिव ११ सय जना नेपाल प्रहरी जिल्लाका सबै पूजास्थलमा परिचालन गरिएको जानकारी दिए ।

त्यस्तै सशस्त्रका ४ सयभन्दा बढी प्रहरी खटाइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका एसपी कविन्द्र राईले बताए ।

त्यस्तै ट्राफिक प्रहरीका करिव आधा जनशक्ति छठ पूजाको व्यवस्थापनमा खटिएका छन् । जिल्लाका ७ ठाउँमा ५६ जनालाई छठ पूजामा ट्राफिक व्यवस्थापनमा खटाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी वरिष्ठ नायव निरीक्षक अर्जुन सोडारीले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्