झापा,कात्तिक २२ । हवाई भाडा वृद्धिले नेपालबाट वैदेशिक रोजगारीमा जाने श्रमिक मारमा परेका छन् । दिनको १५ सय नेपाली रोजगारीका लागि हवाई मार्ग हुँदै बिदेसिने गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले धावनमार्ग विस्तारका लागि भन्दै विमानस्थल सञ्चालन समय घटाएपछि विदेशी वायुसेवा कम्पनीले काठमाडौं उडानमा कटौती गरेका छन् । यसको प्रत्यक्ष असर हवाई भाडामा परेको हो ।

कार्यालयले धावनमार्ग विस्तारसम्बन्धी निर्माणका लागि भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कात्तिक २३ देखि चैत १८ सम्म राति १० पछि बिहान ८ बजेसम्म दैनिक १० घण्टा उडान बन्द रहने जनाएको छ । यसले अन्तर्राष्ट्रिय उडानमा व्यापक कटौती भएको हो । नेपालीहरू बढी ओहोरदोहोर गर्ने दिल्ली, दुबई, क्वालालम्पुर, दोहालगायतका गन्तव्यको हवाई भाडा चार गुणासम्म बढेको छ । त्यसमा पनि नेपाली श्रमिकको रोजगारीको प्रमुख गन्तव्य मलेसिया र खाडी मुलुकको हवाई भाडा अस्वाभाविक रूपमा बढेको छ । त्यसको प्रत्यक्ष मारमा नेपाली श्रमिक परेका हुन् ।
सरकारले लागू गरेको ‘फ्री भिसा, फ्री टिकट’ को नीति सबै रोजगारदाताले पूर्ण रूपमा लागू नगर्दा धेरैजसो श्रमिकले हवाई भाडा वृद्धिको मार खेप्नुपरेको छ । खाडी र मलेसियामा करिब ४ प्रतिशत श्रमिक मात्र शून्य लागतमा गइरहेका छन् ।
खाडी तथा मलेसिया उड्न हवाई कम्पनीले सामान्यतः ३० देखि ३५ हजार रुपैयाँमा नियमित टिकट उपलब्ध गराउँदै आएका थिए । अहिले यो टिकटको मूल्य ७० देखि ९० हजार रुपैयाँ रहेको श्रमिक बताउँछन् । हवाई भाडा वृद्धिले वैदेशिक रोजगारमा जाने श्रमिकको लागत शुल्क झन् बढेको छ । ‘पहिला हवाई शुल्क सस्तो थियो, नेपालबाट ३० हजारमै दुबई उड्न पाइन्थ्यो । अहिले टिकट पाउनै मुस्किल छ । यो पटक ८५ हजार रुपैयाँ तिर्नुप¥यो,’ इटहरीका श्याम थपलियाले भने ।

वैदेशिक रोजगार ऐन २०६४ को दफा २२ अनुसार वैदेशिक रोजगारीमा जाने श्रमिकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्नुपर्ने बाध्यकारी व्यवस्था छ । तेस्रो मुलुकको विमानस्थल ट्रान्जिट मात्र प्रयोग गर्न पाइन्छ । दिल्लीबाट उड्नका लागि नेपाली दूतावासबाट ‘एनओसी’ लिनुपर्छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्