कुमरखोद,कात्तिक २२ । स्थानीय जोरमाई युवा क्लवको आयोजनामा झापा गाउँपालिकामा संचालित १९ औं खुल्ला नकआउट फुटबल प्रतियोगिताको उपाधि गेरबाबा एफसी अर्जुनधाराले जितेको छ ।
आज भएको फाइनल खेलमा आयोजक जोरमाई युवा क्लवलाई ४–० गोलको अन्तरले हराउँदै गेरबाबाले उपाधि जितेको हो । खेल शुरु भएको पहिलो हाफको १० औं मिनेटमा गेरबाबा एफसीका जर्सी नं १० का संजय धिमालले पहिलो गोल गरेका थिए । त्यसैगरी गेरबाबा एफसीका जर्सी नं. १९ का बुद्ध चौधरीले दोस्रो हाफको ९ औ मिनेटमा अर्को गोल गरी टीमलाई अग्रता दिएका थिए । यसैगरी दोस्रो हाफको २८ र ३० औं मिनेटमा जर्सी नं १० का संजय धिमालले थप दुई गोल गरी टीमलाई शानदार जित दिलाएका हुन् ।
फाइनल खेलको म्यान अफ द म्याच र सर्वाधिक गोलकर्ताको रुपमा गेरबाबा एफसीका संजय धिमाल घोषित भए । उनले खेल अवधिभरि ४ गोल गरेका थिए । विजेता टिमले ६५ हजार नगद ट्रफी , मेडल र प्रमाणपत्र पाएको छ भने उपविजेताले ३५ हजार नगद , ट्रफी ,मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ ।
प्रतियोगितामा ए र वी समुह गरी आयोजकसहित ८ वटा टीमले भाग लिएका थिए । झापा गाउँपालिका कार्यवाहक अध्यक्ष अन्जुदेवी थपलिया, वडा नं. २ अध्यक्ष हिमालकुमार चम्लागाईले विजेता र उपविजेता टीमलाई पुरस्कार प्रदान गरेका थिए । प्रतियोगितामा सर्वाधिक गोलकर्ता गेरबाबाका धिमाल, उत्कृष्ट गोलरक्षक गेरबाबाका संजय लिम्बू, उत्कृष्ट डिफेन्डर गेरबाबाकै मिलन मेचेलाई जनही तीन हजार नगद , मेडल, प्रमाणपत्र र उत्कृष्ट खेलाडी आयोजकका मनोज राईलाई नगद पाँच हजार , मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।
हेमकुमार राजवंशीको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा झापा गाउँपालिकाका कावा अध्यक्ष थपलिया, नेपाली कांग्रेसका क्षेत्रीय सभापति जयनारायण शाह, वडा नं १ का वडा अध्यक्ष राजकुमार यादव , वडा नं २ का अध्यक्ष हिमालकुमार चम्लागाई , वडा नं ३ का अध्यक्ष सुभाषलाल गणेश , वडा नं ५ का अध्यक्ष कृष्णप्रसाद राजवंशी , वडा नं ७ का अध्यक्ष सखिचन्द्र ठाकुर , जग्गादाता रणवहादुर इङ्नाम , रत्नबहादुर खत्रीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन भुवन पुडासैनीले गरेका थिए । प्रतियोगिता कात्तिक १४ गतेदेखि शुरु भएको थियो ।