भद्रपुर, कात्तिक २३ । लेखापढी बचत तथा ऋण सहकारी संस्था लिमिटेड भद्रपुर ८ को १४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

सहकारीका अध्यक्ष दलबहादुर थापाको अध्यक्षता र नेपाल बचत तथा ऋण सहकारी संघका महासचिव घनश्याम अधिकारीको प्रमुख आतिथ्यमा सभा सम्पन्न भएको हो ।

सभामा उत्कृष्ट बचतकर्ता अलिम अख्तर तथा टिकाराम अधिकारी तथा उत्कृष्ट ऋण कारोवार गरेवापत गणेश ढकाल र भुवन भण्डारीलाई सम्मान गरिएको थियो भने ज्येष्ठ सदस्य टिकाप्रसाद कोइरालालाई सम्मान गरिएको थियो ।

वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष थापाले १४ जना महिला सदस्यसहित २७५ शेयर सदस्य र एक करोड एक लाख ६९ हजार शेयर पूँजी रहेको विवरण प्रस्तुत गरेका थिए ।

प्रमुख अतिथि अधिकारीले कुनै पनि दलको आवरणमा सहकारी ठग्नेहरू संरक्षित हुन नहुने भन्दै कानुनी दायरा बढाएर सहकारीको रकम अपचलन गर्नेहरूलाई नियन्त्रण गर्न राज्य लाग्नु पर्ने बताए ।

सचिव हेमराज खतिवडाले सञ्चालन गरेको कार्यक्रममा सहकारीका संस्थापक अध्यक्ष युवराज कार्की पर्वत, नेपाल लेखापढी कानून व्यवसायी एशोसिएसन भद्रपुर इकाइका पूर्व अध्यक्ष रमेश पोखरेल, लोकनाथ भट्टराई, राष्ट्रसेवक सहकारीका अध्यक्ष वशिष्ठ अधिकारीलगायतले मन्तव्य राख्दै सहकारीलाई सहकार्यको आधार बनाउनु पर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्