झापा, कात्तिक २३ । खप्तडी बुढाथोकी क्षेत्री सेवा समाज कोशी प्रदेश कार्यसमितिको चौथो वार्षिक साधारणसभा शुक्रबार झापाको बिर्तामोडमा सम्पन्न भएको छ ।
कोशी प्रदेश कार्यसमितिका अध्यक्ष रामकुमार बुढाथोकीको अध्यक्षतामा बुढाथोकी सामुदायिक भवन बिर्तामोड– ९ नडियावारीमा सम्पन्न वार्षिक साधारणसभामा अध्यक्ष रामकुमारले सांगठानिक र कोषाध्यक्ष रमेशले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
खप्तडी बुढाथोकी क्षेत्री सेवा समाजका केन्द्रीय अध्यक्ष गणेशबहादुर बुढाथोकीको प्रमुख आतिथ्यमा सम्पन्न साधारणसभामा प्रदेश अध्यक्ष रामकुमारले प्रतिवेदन प्रस्तुत गर्दै कोशीका १२ वटा जिल्लामा समाजको जिल्ला कार्यसमिति बनेको जानकारी गराए ।
ओखलढुंगा र सोलुखुम्बुका बन्धुहरुसँग सन्तोषजनक समन्वय गर्न नसकेकोले जिल्ला कार्यसमिति नबनेको उल्लेख गर्दै तराईका झापा र मोरङमा निर्वाचन क्षेत्र स्तरीय समितिसमेत क्रियाशील रहेको उनले प्रतिवेदनमार्फत जानकारी गराए ।
खप्तड क्षेत्रबाट बसाइँ सर्दै पूर्वी नेपालका पहाड र तराईमा बाक्लो बसोबास रहेका खप्तडी बुढाथोकी क्षेत्री परिवारले विभिन्न स्थानमा कुल मन्दिरहरु निर्माण गरिसकेको र अझै पनि थपिँदै जानेक्रममा रहेको अध्यक्षले उल्लेख गरेका छन् । प्रतिवेदनमा झापा जिल्लाको खप्तडी बुढाथोकी क्षेत्री समाजको कार्यसमितिलाई कोशी प्रदेशकै उत्कृष्ट र अब्बल भएको जनाइएको छ ।
सो साधारणसभामा प्रदेश कार्यसमितिका कोषाध्यक्ष रमेश बुढाथोकीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक वर्ष २०८०÷०८१को यथार्थ वित्तीय कारोबार विवरण तथा आर्थिक वर्ष २०८१÷०८२ को लागि वार्षिक अनुमानित बजेट प्रस्तुत गरेका थिए ।
आर्थिक वर्ष २०८०÷०८१ मा कोशी प्रदेश कार्यसमितिले २ लाख ५८ हजार ४७४ रुपैयाँ प्राप्त गरी ४२ हजार ४२५ मात्र खर्च गरेर २ लाख १६ हजार ४९ रुपैयाँ बैंकमा मौज्दात राखेको प्रतिवेदनमा जनाइएको छ ।
समाजको आर्थिक कारोबारलाई मितव्ययी एवम् पारदर्शी बनाउने उद्घोष गरेका कोषाध्यक्ष रमेशले आर्थिक वर्ष २०८१÷०८२ मा समाजको सदस्यता वृद्धिमा जोड दिएर आर्थिक अभिवृद्धि गर्नुपर्ने उल्लेख गरेका छन् ।
समाजका सहसचिव भुपालमान बुढाथोकीले सञ्चालन गरेको साधारणसभा कार्यक्रमको उद्घाटनसँगै खप्तडी बुढाथोकी क्षेत्री बन्धु गीत प्रस्तुत गरिएको थियो ।
सो समारोहमा आमन्त्रित अतिथि एवम् सहभागीहरुलाई शाब्दिक स्वागत गर्दै कोशी प्रदेश कार्यसमितिका उपाध्यक्ष रामजी बुढाथोकीले आफूहरु सधैं पछि परेको जिकिर गर्दै हरेक कुरामा अगाडि बढ्नु पर्ने आवश्यकता औंल्याएका थिए ।आफ्नो कुलवंशको रक्षा गर्दै समुदायको अभिवृद्धि गर्ने, कुल किन मान्ने, कुल र पितृ मान्न अनिवार्य छ कि छैन जस्ता विषय बुझ्न पनि खप्तडी बुढाथोकी क्षेत्री समाजमा आवद्ध हुनुपर्ने उपाध्यक्ष बुढाथोकीले आवश्यकता दर्शाएका थिए ।