झापा, कात्तिक २४ । नेपाली कांग्रेसका युवा नेता भुपेन्द्रजंग शाहीले झापाको मेचीनगरबाट मेची–महाकाली ‘युवा संकल्प यात्रा’ सुरू गरेका छन् ।
शाहीको नेतृत्वमा दर्जनबढी युवा नेताहरूले शुक्रबार काँकडभिट्टाबाट मेची–महाकाली यात्रा थालेका हुन् । यात्राका क्रममा पार्टीका नेता, कार्यकर्ता, युवा, विद्यार्थी र सर्वसाधारणहरुसँग समसामयिक राजनीतिक विषयहरुसँगै पार्टी संगठनको अवस्था, पार्टीमा युवाहरूको सहभागिता र भावी रणनीतिलगायत विषयहरूमा छलफल हुने नेता शाहीले बताए ।
शुक्रबार नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले युवा नेताहरूलाई पार्टीको झण्डा हस्तान्तरण गर्दै संकल्प यात्राको शुभारम्भ भएको हो । त्यस अवसरमा मेचीनगरस्थित हनुमान मन्दिर परिसरमा कोण सभा भएको छ ।
सभालाई सम्बोधन गर्दै नेता शाहीले सहकारी ठगी तथा अन्य भ्रष्टाचारका घटनामा नाम मुछिएका आफ्नै पार्टीका नेतालाई कारबाही हुनुपर्ने बताए ।नेता शाहीले भ्रष्टाचारका घटनाले नेपाललाई विक्षिप्त बनाएको बताए। उनले आफ्नो पार्टी वा अन्य पार्टीका जोसुकैलाई कारबाहीको दायरामा ल्याउनु पर्ने बताए।
उनले भने, ‘जनताले दुःख गरेर सहकारीमा जम्मा गरेको पैसा खानेहरूलाई कुनै पूर्वाग्रह राखेर बचाउने कुरा आउँदैन। जनताको पैसा खानेहरू जेल जानुपर्छ। यस्तो मुद्दा कसैलाई पनि बचाउन सकिँदैन।’
उनले जुनसुकै पार्टीको नेता किन नहोस् ऊ कारबाहीको भागिदार हुनुपर्ने बताए। उनले प्रधानमन्त्री केपी शर्मा ओली तथा गृहमन्त्री रमेश लेखकसँग भ्रष्टाचारमा नाम मुछिएकाहरूमाथि छानबिन गरी कारबाही गर्न आग्रह गरे।
उनले भने, ‘हाम्रै पार्टी सरकारमा छ। म यहाँबाट प्रधानमन्त्री तथा गृहमन्त्रीलाई आग्रह गर्छु कि त्यस्ता नेतालाई कारबाहीको दायरामा ल्याउनुहोस्।’
कांग्रेसका उपसभापति धनराज गुरुङलगायत केही नेताहरूको नाम पनि सहकारी ठगीमा मुछिएको छ। तर नेता शाहीले उनीहरूको नाम भने लिएनन्।यात्राका क्रममा अब इटहरी, लहान, जनकपुर, लालबन्दी, वीरगञ्ज, भरतपुर, लमही, वीरेन्द्रनगर, कोहलपुर हुँदै मंसिर ४ गते महाकालीमा अन्तरक्रिया कार्यक्रमहरू आयोजना गरिने नेता शाहीले बताए ।