झापा, कात्तिक २४ । आफ्नै गोरुले हानेर झापा गौरादहमा एकजनाको मृत्यु भएको करिव एक सातापछि छिमेकीको राँगोले हान्दा कन्काई नगरपालिका– ५ तल्लो चप्रामारीकी एक महिला सख्त घाइते भएकी छन् ।
हिजो दिउँसो २ बजे तल्लो चप्रामारी टोल बस्ने गादु मियाले आफ्नो राँगो घर अगाडि खेतमा बाँधेकोमा सो राँगोले डोरी चुँडाएर छिमेकी ५० वर्षीया सरस्वती पराजुलीलाई हानेको हो । घाइते पराजुलीको कम्मरमुनिको भाग नचल्ने भएको छ । उनको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको र अवस्था मध्यम रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले बताए ।
यसअघि कात्तिक १४ गते आफ्नै गोरुले हानेर गौरादहमा एक जनाको मृत्यु भएको थियो भने अर्का घाइते भएका थिए ।
गौरादह– ७ जामबारी बस्ने अन्दाजी ४८ वर्षीय कृष्ण शर्माको आफ्नै गोरुले हानेर मृत्यु भएको थियो ।सोही गोरुलाई समाउने क्रममा छिमेकी अन्दाजी ४५ वर्षीय रविन राजवंशी गंभीर घाइते भएका थिए । करिव चार वर्षअघि आफ्नै घरमा पालेको गोरुले हानेर मेचीनगर–१४ प्रणामीनगरका ५० वर्षीय विष्णुप्रसाद श्रेष्ठको पनि मृत्यु भएको थियो ।