लक्ष्मी उप्रेती,
कन्काई । आगामी मंसिर १६ मा झापाको कन्काई नगरपालिका –६ मा हुने उपनिर्वाचनको लागि झापाका प्रमुख राजनीतिक दलहरु यतिबेला गृहकार्यमा जुटेका छन् । मुख्य दलहरु नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीले यो उपनिर्वाचनलाई आ–आफ्नो दलको भाग्य परीक्षाको रुपमा लिएका छन् ।
जिल्ला, नगर, गाउँ, क्षेत्र, वडा तथा टोलसम्मका नेता कार्यकर्ताहरुको कन्काई–६ मा दैनिकजसो बाक्लो उपस्थिति, छलफल र भेला तीब्ररुपमा हुन थालिसकेको छ ।
अझ यो उपनिर्वाचन सत्ता साझेदार पार्टी नेकपा एमाले र नेपाली काँग्रेसका लागि त प्रतिष्ठाकै विषय बनेको छ । २०७४ सालमा भएको निर्वाचनमा नेकपा एमालेका उम्मेद्वार इन्द्रप्रसाद नेपाललाई फराकिलो मतान्तरले पाखा लगाएर नेपाली काँग्रेसका तर्फबाट उम्मेद्वार बनेका लक्ष्मीप्रसाद ओली त्यस वडाको वडाध्यक्षमा विजयी बनेका थिए भने २०७९ सालमा भएको निर्वाचनमा तिनै ओलीले नेपाली काँग्रेसबाट असन्तुष्ट भएर बागी उम्मेद्वार बन्दा नेकपा एमालेका वडाध्यक्ष पदका उम्मेद्वार दीर्घबहादुर थापाको वडाध्यक्ष हुने ढोका खुलेको थियो ।
यसकारण नेपाली काँग्रेसलाई २०७४ सालको विरासत फर्काउनु छ भने एमालेलाई २०७९ सालको विरासत जोगाउनु पर्ने चुनौती छ । यसकारण पनि यी दल जसरी भएपनि उपनिर्वाचनको परिणाम आफ्नो पक्षमा ल्याउन साम, दाम, दण्ड सवै लगाएर लागेका छन् । हुन् त, यसपटक पनि लक्ष्मीप्रसाद ओलीले स्वतन्त्र उम्मेद्वारी दिने भएका कारण दुवै दललाई यो उपनिर्वाचन जित्न सजिलो भने छैन । उनीहरुका लागि मंसिर १६ गते कन्काई –६ मा हुने उपनिर्वाचन फलामको चिउरा चपाउनु सरहझै छ ।
नेकपा एमालेका तर्फबाट तुलाराम बस्नेतको नाम चर्चामा रहेपनि आधिकारिक रुपमा कात्तिक २६ गते सोमबारमात्र उम्मेद्वारको नाम घोषणा गर्ने नेकपा एमाले जिल्ला कमिटी झापाले जनाएको छ । उपनिर्वाचनका लागि मंसिर २ गते उम्मेद्वारी दर्ता गर्नुपर्ने छ । मंसिर २ गते बिहान १० देखि अपराह्न ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता भएर सोही दिन साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको सूची प्रकाशन भइसक्ने निर्वाचन आयोगले जनाएको छ । खासगरी यो एउटा वडाको उपनिर्वाचन भएकाले त्यहीको कन्काई नगर कमिटी, वडा कमिटी, टोल कमिटी, पार्टी सदस्य, शुभेच्छुकहरु निर्वाचनमा परिचालन हुने जिल्ला कमिटी उपाध्यक्ष शिव ढुङ्गेलले जानकारी दिए । ‘हरेक मतदाताकहाँ उहाँहरु नै पुग्नुहुन्छ ’ उपाध्यक्ष ढुङ्गेलले भने ।
नेपाली काँग्रेसले यो उपनिर्वाचनलाई सामान्यरुपमा लिएको जनाएको छ । ‘हामी प्रचारप्रसारमा टिसर्ट, क्याप र माइकिङ गरेर निकै तामझामका साथ जाँदैनौ’ नेपाली काँग्रेस झापा जिल्ला सभापति देउकुमार थेवेले भने,‘सरलरुपमा उपनिर्वाचनमा भाग लिएका छौ, चुनावी प्रतिस्पर्धा गर्ने सवैले चुनाव जित्दैनन्, हामी अन्तिममा जे परिणाम आउँछ चित्त बुझाउँछौ । निकै उफ्रेर आमसभा र चुनावी सभा गर्दैैनौ ।यो उपनिर्वाचन हो ।हामी सामान्यरुपमा चुनावी मैदानमा छौ ।’ नेपाली कांग्रेसले पार्टीका वडा सभापति रहेका रामगोपाल ओलीलाई उम्मेदवार बनाउने पक्कासरह छ ।
नेकपा माओवादी केन्द्रका झापा सहसंयोजक राजु आचार्य अग्नि आफ्नो पार्टीका तर्फबाट उम्मेद्वार बनेका गणेश थापा एकजना इमान्दार कार्यकर्ता भएको दाबी गर्छन् । जिल्लाले सवै तह र तप्काका नेता कार्यकर्तालाई उपनिर्वाचनमा जुट्न निर्देशन दिइसकेको सहसंयोजक आचार्यले बताए । माओवादी केन्द्रले मुलुक र जनताका पक्षमा गरेका काम,स्थानीय क्षेत्रमा गरेका विकास निर्माण र जनताको आवाजका रुपमा माओवादी केन्द्रलाई बुझ्ने गरेका कारण यो उपनिर्वाचन माओवादी केन्द्रको पक्षमा जाने र जीत सुनिश्चित हुने सहसंयोजक आचार्यको दाबी छ । थापा नेकपा माओवादीका जिल्ला सदस्य हुन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका झापा जिल्ला अध्यक्ष केशवप्रसाद ओझा आफ्नो पार्टीका वडाध्यक्ष पदका उम्मेद्वार समाजप्रति जिम्मेवार, भ्रष्टाचार विरोधी र जनतामाझ लोकप्रिय भएकै कारण चुनाव जित्नेमा ढुक्क छन् । मंसिर १६ को उपनिर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीले कन्काई– ६ मा नारायण निरौलालाई वडाध्यक्षको उम्मेद्वार बनाएको छ । निरौला पार्टीका सोही वडाका वडा कमिटी अध्यक्ष हुन् ।
उपनिर्वाचनका लागि त्यस वडाबाट नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टीले आ–आफ्नो दलका तर्फबाट उम्मेद्वारको नाम टुङ्गो लगाइसकेका छन् भने स्वतन्त्र उम्मेद्वारका रुपमा लक्ष्मीप्रसाद ओलीले आफ्नो उम्मेद्वारी सार्वजनिक गरेका छन् । एक पदका लागि चारवटा राजनीतिक दल र एकजना स्वतन्त्र उम्मेद्वार गरी कुल पाँचजनाबीच चुनावी प्रतिस्पर्धा हुने देखिएको छ ।