झापा, कात्तिक २५। घट्दो तापक्रमसँगै डेङ्गु सङ्क्रमण पनि घट्दै गएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा गोकर्ण दाहालले तथ्याङ्कले डेङ्गु सङ्क्रमण घट्दै गएको बताए ।
उनले भने, “डेङ्गु नियन्त्रणका लागि पालिकादेखि खोज र नष्ट अभियान सञ्चालन भएका छन् । तापक्रम घट्नु पनि यसको कारण हो । प्राकृतिक रुपमै चिसोमा लामखुट्टेले अण्डा उत्पादन गर्ने प्रक्रिया कम हुन्छ ।”
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही समयअघि डेङ्गु नियन्त्रणका लागि देशव्यापी रुपमा लामखुट्टेको बास स्थानको खोजी र नष्ट अभियान सुरु गरेको थियो । मन्त्रालयले हरेक शुक्रबार १० बजेर १० मिनेटमा मन्त्रालय, विभाग, निजामति कर्मचारी, सुरक्षा निकाय, सामाजिक अभियन्ताका साथै आम नागरिकलाई सहभागी हुन आह्वान गरेको थियो । सरकारी तथा गैरसरकारी संस्था तथा नागरिकस्तरमा यो अभियान सञ्चालन भइरहेको छ ।
दाहालले विगतका वर्षको भन्दा अहिले सङ्क्रमण दर घटेको बताए । उनले भने “त्यस्ता खालका अभियानले पनि घट्न मद्दत गरेको छ । डेङ्गु विश्वव्यापी खतराको रुपमा देखिएको छ । अरु देशको अनुभव हेर्नु भयो भने सङ्क्रमण र अस्पताल भर्ना हुनेको दर पनि बढ्दो छ । हामीले अझै धेरै गर्नुपर्नेछ तर पनि हाम्रो प्रयास र मेहनतले गर्दा सङ्क्रमणलाई घटाएका छौँ ।”