झापा, कात्तिक २५ । आगामी मंसिर २ गते विराटनगरमा हुने नयाँ चरणको कोशी नाम खारेजीको आन्दोलनमा किरात राई यायोक्खाले बृहत सहभागिता जनाउने भएको छ ।
प्रदेश नं. १ पुनः नामांकन संयुक्त संघर्ष समितिको प्रमुख घटक किरात राई यायोक्खाले आन्दोलनलाई सफल बनाउन भरमग्दूर सहयोग गर्नेे निर्णय गरेको हो । किरात राई यायोक्खा जिल्ला समिति झापाको आज बिर्तामोडमा भएको बैठकले प्रदेश नं.१ पुनः नामांकन संयुक्त संघर्ष समितिको आयोजनामा विराटनगरमा हुने नयाँ चरणको कोशी प्रदेश नामकरणविरुद्धको प्रदर्शनमा किरात राई यायोक्खाको तर्फबाट जिल्ला, नगरपालिका, गाउँपालिका, वडा समितिका सम्पूर्ण पदाधिकारी, सदस्यहरु तथा आम किरात राई समुदायलाई सक्रिय रुपमा सहभागी गराउने , झापा जिल्लाबाट किराँत राई यायोक्खाको तर्फबाट कम्तीमा १५ वटा गाडीको ब्यवस्थापन गर्ने , बिराटनगरमा हुने बिरोध प्रदर्शनमा सांस्कृतिक झाँकीसहित उपस्थिति हुने निर्णय गरेको हो ।
बिर्तामोड –४ स्थित लण्डन होटलको सभाहलमा किरात राई यायोक्खा जिल्ला कार्यसमिति झापाको आयोजनामा बैठक बसेको थियो । जिल्ला अध्यक्ष गणेशबहादुर राईको अध्यक्षता तथा किरात राई यायोक्खाका केन्द्रीय उपाध्यक्ष तिलक याम्फु राईको प्रमुख आतिथ्य रहेको थियो ।
बैठकमा किरात राई यायोक्खाका केन्द्रीय महासचिव तथा पहिचानका लागि युवाका केन्द्रीय कमाण्डर भिम राई, यायोक्खाका केन्द्रीय उपमहासचिव तथा प्रदेश नं. १ पुनः नामांकन संयुक्त संघर्ष समितिका प्रचार प्रसार प्रमुख अर्जुन जम्नेली राईलगायतको उपस्थिति रहेको थियो ।