भद्रपुर, कात्तिक २५ । नेपाल तरूण दलको नेतृत्वमा भद्रपुर ४ ठण्डा बस्तीमा विपन्न तथा सिमान्तकृत दहेरी परिवारले नयाँ घर पाएका छन् ।
नेपाल तरूण दल भद्रपुर ५ को पहल तथा ३ नम्बर क्षेत्रीय समिति र केन्द्रीय समिति सदस्य श्याम सिटौलाको समन्वयमा २ कोठे पक्की घर निर्माण भएको हो ।
आर्थिक अवस्था कमजोर भएकै कारण घर निर्माण गर्न नसकेका भद्रपुर ५ का मेहरा दहेरी परिवार कच्ची झुपडीमा दिन कटाइरहेका थिए । सो परिवारलाई भद्रपुर ८ का समाजसेवी धनजुजु श्रेष्ठले ४ धुर जग्गा निःशुल्क प्रदान गरेपछि भद्रपुर ४ ठण्डा बस्तीमा तरूण दलले घर निर्माण गरिदिएको हो ।
सिमान्तकृत समुदायका मेहराको अवस्था बुझेका तरूण नेपाल दल भद्रपुर ५ का सभापति इन्द्र नेपाल तथा ३ नम्बर क्षेत्रीय समितिका सभापति खड्गबहादुर लिम्बूको पहलमा केन्द्रीय समिति सदस्य श्याम सिटौलाको समन्वयमा नेपाली काँग्रेसनिकट उद्योगी व्यापारी तथा दातासंग सहयोग जुटाएर जस्तापाताको छानो भएको एकतले पक्की घर निर्माण गरिएको हो ।
घर निर्माणबारे जानकारी दिँदै केन्द्रीय सदस्य सिटौलाले सवैको घर बनाउन नसकिए पनि अति विपन्न र सिमान्तकृत वर्गको बास जुटाउन तरूण दलले गरेको यस सन्देशमूलक कार्यले स्थानीय, प्रदेश र केन्द्रीय सरकारलाई सर्वहारा वर्गको आवास तथा उन्नतिका लागि विशेष योजना ल्याउन सकारात्मक दवाब हुने विश्वास व्यक्त गरे । साथै नेपाली काँग्रेस र त्यस पार्टी सम्बद्ध संघ संगठन आफैले पनि सर्वहारा वर्गको उन्नतिका लागि केही न केही गर्न सक्ने र गरिरहनु पर्ने धारणा राखेका थिए ।
घर हस्तान्तरण कार्यक्रममा भद्रपुर नगर प्रमुख गाणेश पोखरेल, वडाध्यक्षहरू रामबहादुर कँडेल, रतिया राजवंशी, बन्धु कार्की र गौरव सुब्बा मनोज, महासमिति सदस्य टिकाराज ढकाल, लता कार्की, विजय रिजाल, तरूण दलका केन्द्रीय सदस्य राजेन्द्र उप्रेती, श्याम सिटौला, क्षेत्रीय सभापति खड्गबहादुर लिम्बू तथा तरूण दल भद्रपुर ५ का सभापति इन्द्र नेपाल, नेपाली काँग्रेस तथा तरूणका वडा सभापतिहरूलगायतले दहेरी परिवारलाई नयाँ घर संयुक्त रूपमा हस्तान्तरण गरेका थिए ।
इन्द्र नेपालको सभापतित्व तथा भद्रपुर नगर प्रमुख पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा भद्रपुर २ का वडाध्यक्ष रामबहादुर कँडेल, ५ का वडाध्यक्ष बन्धु कार्की, उद्योगी टिकाराज ढकाल, तरूण दलका झापा ३ नम्वर क्षेत्रीय सभापति खड्गबहादुर लिम्बूलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।