झापा, कात्तिक २७ । भिरमौरी संरक्षणमा खोटाङको केपिलासगढी गाउँपालिका–३, बाँसपानीका स्थानीय जुटेका छन् । बाँसपानी र खार्ताम्छाको सिमानास्थित रोयलुङबाट दुई वर्षअघि डढेलोका कारण भागेका भिरमौरी पुनः फर्किएपछि स्थानीय संरक्षणमा जुटेका हुन् ।
बाँसपानी र खार्ताम्छाको सिमानामा रहेको लङखोलामा पिउरी छाँगा रहेको छ । त्यसमाथि रोयलुङ ढुङ्गामा अहिले भिरमौरी बस्न थालेपछि संरक्षणमा स्थानीय अग्रसर भएका छन् । रोयलुङ ढुङ्गामा यसअघि पनि भिरमौरी रहेका थिए । करिब दुई वर्षअगाडि उक्त ठाउँमा आगो लागेपछि भिरमौरी भागेका थिए । पुनः अहिले भिरमौरी आएर बस्न थालेपछि बाँसपानी र खार्ताम्छा दुवै वडाबाट तिनको संरक्षणमा जुटेको बाँसपानीका स्थानीय प्रदीप राईले बताए ।
भिरमौरी रहेको ठाउँ रोयलुङ साम्पाङ राईहरूको इतिहाससँग समेत जोडिएको छ । साम्पाङ भाषामा रोय भनेको मौरी र लुङ भनेको ढुङ्गा बुझिन्छ । पहिलेदेखि नै त्यस ठाउँमा भिरमौरी बस्ने गरेकाले त्यस ठाउँलाई रोयलुङ भनिएको स्थानीयले बताएका छन् । हराएका मौरी अहिले आएर बस्न थालेपछि संरक्षण गर्न सुरु गरिएको राईले बताए । भिरमौरी संरक्षणमा बाँसपानीका वडाध्यक्ष तुलाराम राई र खार्ताम्छाका वडाध्यक्ष मिलन राईले पनि ऐक्यबद्धता जनाएका छन् । बाँसपानीका जनप्रतिनिधि र स्थानीयले भिरमौरी बसेको ठाउँको अवलोकनसमेत गरेको बताएका छन् ।