झापा, कात्तिक २७ । पूर्वी पहाडका किसानको आम्दानीको मुख्य स्रोत बनेको अलैँची स्थानीय बजारमा प्रतिमन एक लाख रुपियाँका दरले कारोबार भएको छ । अलैँचीले यस्तो उच्च मूल्य १२ वर्षपछि पाएको हो ।
स्थानीय बजारमा मात्र होइन भारतमा पनि अलैँचीको मूल्यमा सुधार आएको छ । नेपाली अलैँचीको मुख्य बजार भारतमा साताको पहिलो दिन सोमबार नेपाली अलैँचीले मूल्य पाएको इलाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्ण पौड्यालले बताए । “आज भारतको बजारमा गुणस्तरीय अलैँचीको नेपाली मूल्य एक लाख दुई हजार कायम भएको छ । यसलाई अलैँचीको बजारमा देखिएको सुधारको सङ्केत मान्नु पर्छ,” उनले भने ।
अध्यक्ष पौड्यालले भने, “यहाँ उत्पादित ५० प्रतिशत अलैँची हाम्रो बजारबाट बाहिरिएको छ । अब बाँकी ५० प्रतिशत अलैँची अर्को फसल उत्पादन हुनुअगाडि नै बाहिरिने अवस्था छ । यस कारण पनि अलैँचीको मूल्यको सङ्केत राम्रो छ ।”
उनले १२ वर्षपछि अलैँची प्रतिमन एक लाख रुपियाँका दरले कारोबार भएको बताए । अलि साना दाना भएको अन्य जातको अलैँची भने प्रतिमन ९५ हजारदेखि ९९ हजार रुपियाँसम्म कारोबार भएको पौड्यालले बताए ।

राम्रोसँग सुकाएर राखेको, पुच्छर काटेको अलैँचीको अझै मूल्य बढ्न सक्ने सम्भावना रहेको उनको भनाइ छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्