लक्ष्मी उप्रेती,
चारआली । झापाको मेचीनगरस्थित चारआली साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको नयाँ नेतृत्वका लागि त्रिपक्षीय भिडन्त हुने भएको छ ।
सत्ता साझेदार पार्टी नेकपा एमाले र नेपाली काँग्रेस एक्लाएक्लै निर्वाचनमा होमिएका छन् । नेपाली काँग्रेसको लोकतान्त्रिक समूह, नेकपा एमालेको प्रगतिशील समूह तथा नेकपा माओवादी केन्द्रसहित अन्य दलको साझा समूहबीच चुनावी प्रतिस्पर्धा हुने भएको हो । निर्वाचन समितिका अनुसार मंगलबार उम्मेद्वार फिर्ताको कार्यतालिकाका सार्वजनिक भएको थियो । नेपाली काँग्रेसको लोकतान्त्रिक समूह र नेकपा एमालेको प्रगतिशील समूह एक्लाएक्लै चुनावी प्रतिस्पर्धामा छन् भने नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी , जनता समाज पार्टी नेपालसहित सातवटा दलको संयुक्त प्यानल चुनावी मैदानमा छ ।
नेकपा एमालेको प्रगतिशील प्यानलले सन्तोषकुमार मेचेलाई अध्यक्षको रुपमा अघि सारेको छ भने नेपाली काँग्रेसको लोकतान्त्रिक समूहका तर्फबाट बालकृष्ण विष्ट अध्यक्षको प्रत्यासीको रुपमा छन् । यसैगरी सात दलको संयुक्त प्यानलको साझा समूहका तर्फबाट अध्यक्ष पदमा राजन चिमरिया चुनावी मैदान उत्रिएका छन् । विष्ट मेचे मेचीनगर वडा नम्बर ११ का निवर्तमान वडाध्यक्ष हुन् । चिमरिया नेकपा माओवादी केन्द्रका मेचीनगर अध्यक्ष हुन् ।
यसैगरी, नेकपा एमालेको प्रगतिशील समूह प्यानलबाट उपाध्यक्षमा पुष्पा गौतम खनाल, सचिवमा दामोदर घिमिरे, कोषाध्यक्षमा प्रकाश वरालको उम्मेद्वारी दर्ता भएको छ । खुल्ला सदस्यहरुमा साबिक धाइजन १,२,३ र ४ बाट राजेन्द्र कार्की, साबिक धाइजन ५ र ६ बाट महिला सदस्यमा भागिरथा खतिवडा, खुल्ला सदस्यतर्फ हरिप्रसाद घिमिरे, साबिक दुहागढी ४,५ र ६ बाट खुल्ला महिला सदस्यमा लीलादेवी कार्की, खुल्ला सदस्यमा कृष्णप्रसाद भण्डारी नेकपा एमालेको प्रगतिशील समूह प्यानलबाट उम्मेद्वार बनेका छन् । लेखा समिति संयोजक पदमा रेवतकुमार दाहाल र सदस्यहरुमा श्रीप्रसाद थापा र विमला मिश्र विष्टलाई एमालले अघि सारेको छ ।
उता, नेपाली काँग्रेसको लोकतान्त्रिक समूहबाट उपाध्यक्षमा दीपा आचार्य पौडेल, सचिवमा राजेन्द्रप्रसाद रिजाल, कोषाध्यक्ष यमकान्त पौडेल चुनावी प्रतिस्पर्धामा छन् ।
त्यसैगरी, साबिक दुहागढी ४, ५ र ६ बाट खुल्ला सदस्यमा लक्ष्मी घिमिरे, महिला सदस्यमा रम्बा राजवंशी, साबिक धाइजन १,२,३ र ४ बाट खुल्ला सदस्य धनमाया बस्नेत, साबिक धाइजन ५ र ६ बाट महिला सदस्यमा शान्ता नेम्बाङ र खुल्ला सदस्यमा सुकुमार मेचेलाई नेपाली काँग्रेसले अघि सारेको छ । नेपाली काँग्रेसको लोकतान्त्रिक समूहको प्यानलबाट लेखा समितिको संयोजकमा मोहन अधिकारी तथा सदस्यहरुमा हरिप्रसाद रिमाल र जमुनादेवी खरेल ओलीलाई पार्टीले उम्मद्वार बनाएको छ ।
केही ठुला दलले साझा रुपमा दिइएको नेतृत्वको नाम स्वीकार नगरेपछि सात राजनीतिक दलले ब्यवसायी राजन चिमरियाको नेतृत्वमा साझा उम्मेद्वारी दिएका हुन् । उनको प्यानलबाट उपाध्यक्षमा मैया कार्की, सचिवमा प्रेमराज घिमिरे र कोषाध्यक्षमा साउन मेचे ‘बादल’को उम्मेद्वारी परेको छ । अध्यक्षका प्रत्यासी चिमरिया डेरी व्यवसायी र नेकपा माओवादी केन्द्र मेचीनगरका अध्यक्ष हुन् । सचिवका उम्मेद्वार घिमिरे प्राध्यापक, सञ्चारकर्मी तथा रास्वपा स्थानीय नेता हुन् ।
चिमरियाको नेतृत्वमा रहेको साझा समूहले सदस्यका उम्मेद्वारहरुमा डिल्लीराम अधिकारी, चन्द्रकला तदेबुङ ,पुरुषोत्तम सिग्देल, अञ्जु फेवादिन, तेजबहादुर लिम्बूलाई चुनावी मैदानमा उतारेको छ । लेखा संयोजक अर्जुन खनाल र सदस्य टीकाराम रिजाल रीतादेबी रिजाल न्यौपाने प्रतिस्पर्धामा छन् । नेकपा एमाले र नेपाली काँग्रेस एक्लाएक्लै चुनावी मैदान छिरेपछि अन्य पार्टीको साथ लिएर नेकपा माओवादी केन्द्र चुनावी प्रतिस्पर्धामा उत्रिएको हो । ‘सवैको पहुँच र सर्वसुलभ दरमा, सदैव स्वच्छ पिउने पानी घरघरमा ’भन्ने मुलमन्त्रलाई त्योे समूहले अघि सारेको छ ।
काँग्रेससित सरकारमा सहकार्य भए पनि यो निर्वाचनमा दुवै दलले आ—आफ्नो नीति लिएर प्रतिस्पर्धा गरिरहेकाले यसलाई निकै चासोका साथ हेरिएको छ । अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र सदस्यसहित नौ र संयोजकसहित तीन लेखा समिति गरी कुल १२ पदका लागि आगामी मंसिर १ गते शनिबार निर्वाचन हँुदैंछ । आगामी कार्यकालको लागि नयाँ नेतृत्व चयनका लागि संस्थामा दुईहजार छ सय ९० जना मतदाता रहेका छन् । निर्वाचनमा ३६ जना उम्मेद्वार प्रतिस्पर्धामा छन् ।