दमक, कात्तिक २८ । दमक नगरपालिका– ९ का ३७ वर्षीय यामु निरौलाको हत्यामा संलग्न भएको आरोपमा ७ जना पक्राउ परेका छन् ।
राजनीतिक संरक्षण रहेको बुद्धिमान थापा र डेबिड घलेलाई प्रहरीले अझै पक्राउ गर्न सकेको छैन । हत्याको आरोपमा पहिला सात र पछि दुई गरी जम्मा ९ जनामाथि जाहेरी परेपछि प्रहरीले पक्राउ पूर्जी जारी गरेको थियो । त्यस घटनामा संलग्नमध्ये तीनजनालाई प्रहरीले यसअघि नै पक्राउ गरेको थियो । संखुवासभा मादी नगरपालिका– १० घर भई दमक– ३ बस्ने गणेश दर्जी, उर्लाबारी– ६ का प्रकाश कार्की र उर्लाबारी– ७ का ध्रुव गौतम यसअघि पक्राउ परेका थिए । उनीहरूसँगै घटनास्थलमा देखिएका दुईवटा गाडी र दर्जीले प्रयोग गरेको मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको थियो ।
पहिला पक्राउ पूर्जी जारी भएका बाँकी चार जनामध्ये दुईजना भर्खरै पक्राउ परेका छन् । पछिल्लो पटक एमाले कार्यकर्ता नमकुमार चेम्जोङ र दमक– ३ का राजु भनिने शेरबहादुर नेम्बाङ पक्राउ परेका हुन् ।
त्यस्तै पछि जाहेरी परेर पक्राउ पूर्जी जारी भएका दमक ८ का पूर्व वडा सदस्य तथा नगर खेलकुद विकास समितिका अध्यक्ष भीम चम्लागाई र एमाले कार्यकर्ता गोपाल भण्डारी पनि पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दले बताए । चारजना हिजो र अस्ति पक्राउ परेको जनाइएको छ । उनले पक्राउ परेका ७ जनालाई आज अदालतमा उपस्थित गराई अनुसन्धानका लागि म्याद थपिएको जानकारी दिए ।
चर्को दबाबपछि प्रहरीले जाहेरी लिएपनि प्रदेश सांसद होम थापाका भाइ बुद्धिमान थापा र सुनसरी इटहरीका डेबिड घलेलाई पक्राउ गरेको छैन । थापालाई आज पक्राउ गर्ने बताइएको थियो । स्वर्गीय बुवाको कोरामा बसेका बुद्धिमान थापालाई प्रहरीले काजक्रिया सकिएपछि आज पक्राउ गरी जिल्ला प्रहरी कार्यालय लगिने बताइएको थियो ।
प्रदेश सांसद होम थापा,नेकपा एमालेका केन्द्रीय सदस्य गोविन्द थापा, मनोज थापा र बुद्धिमान थापाका पिता हरिश्चन्द्र थापाको गत कात्तिक १५ गते निधन भएको थियो । स्वर्गीय हरिश्चन्द्र थापा दमक नगरपालिकाका निवर्तमान नगर प्रमुख रोमनाथ ओलीका ससुरा हुन् ।
मृतक परिवारले चर्को दबाब दिएपछि प्रहरीले घटनामा संलग्न आरोपितहरुमाथि जाहेरी लिएको थियो । पक्राउ पूर्जी जारी भएपछि मात्र घटनाको ७ दिनपछि परिवारले निरौलाको अन्त्येष्टि गरेको थियो । गत कात्तिक ६ गते दिउँसो अन्दाजी ४ः२४ बजे दमक –३ उज्यालो टोल विकास संस्थाको दक्षिणपट्टि बगरमा जग्गाको बिषयमा विवाद हुँदा निरौलाको हत्या भएको थियो ।