झापा , कात्तिक ३० । आगामी मंसिर १६ गते झापाको कन्काई ६ मा हुन गइरहेको उपनिर्वाचनका लागि जनमत पार्टीले उम्मेदवारी घोषणा गरेको छ ।
आज बिहान कन्काई –६ स्थित चम्पापुर बजारमा जनमत पार्टीका केन्द्रीय अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य डा. सि.के. राउतको प्रमुख आतिथ्यतामा कन्काई ६ को वडाध्यक्ष पदको निर्वाचनका लागि शुकलाल राजवंशीलाई उम्मेद्वार घोषणा गरिएको हो ।
उम्मेदवारी घोषणा सभालाई सम्बोधन गर्दै जनमत पार्टीका अध्यक्ष राउतले केन्द्रीकृत मानसिकताबाट बाहिरिदै वैचारिक आस्थाका आधारमा जनमत पार्टी अगाडी बढेको र जनताको अपेक्षाअनुरुप उम्मेदवार उठाएकोले पूर्ण साथ सहयोग रहने विश्वास व्यक्त गरेका थिए । कार्यक्रममा पार्टी नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।यसअघि कन्काई ६ मा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले आ–आफ्ना उम्मेद्वारी घोषणा गरिसकेका छन् ।