झापा, कात्तिक ३० । सरकारको कामलाई प्रभावकारी बनाउन सत्ता समीकरणका दल नेकपा (एमाले) र नेपाली कांग्रेसबिच गठन भएको राजनीतिक संयन्त्र कोशी प्रदेशमा पनि विस्तार गरिएको छ । दुई दलका प्रमुख नेताहरू सहभागी रहने गरी प्रदेशस्तरीय राजनीतिक संयन्त्र गठन गरिएको हो ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी संयन्त्र गठन गरिएको जानकारी दिइएको हो । पत्रकार सम्मेलनमा दुई दलीय संयन्त्रलाई जिल्ला तहमा समेत विस्तार गरिने जानकारी दिइएको छ ।
संयन्त्रमा नेकपा (एमाले) का तर्फबाट कोशी प्रदेशका पूर्वमुख्यमन्त्री एवं पार्टी स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश इन्चार्ज शेरधन राई, मुख्यमन्त्री हिक्मतकुमार कार्की र पार्टीका प्रदेश अध्यक्ष घनश्याम खतिवडा रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । कांग्रेसको तर्फबाट संयन्त्रमा कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापा, भौतिक पूर्वाधार विकासमन्त्री तथा पार्टीका कोशी प्रदेश महामन्त्री भूपेन्द्र राई रहेका छन् । संयन्त्रको पहिलो बैठकले कांग्रेस कोशी प्रदेशका महामन्त्री उमेश थापालाई संयन्त्रको सदस्य थप गर्ने निर्णय गरेको छ ।